
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले देश गम्भीर संकटमा गुज्रिरहेको बताएका छन्। विराटनगरमा आयोजित नेकपाको सन्देश सभालाई सम्बोधन गर्दै देशलाई यो संकटबाट निकास दिनका लागि कम्युनिस्ट पार्टी एकतामा जोडिएको उनले बताएका हुन्।
उनले मार्क्सवाद र लेलिनवादलाई नयाँ पार्टीको मूल सिद्धान्तको रूपमा स्वीकार गरिएको जानकारी दिए। समाजवादी क्रान्ति र नेपाली विशेषताको समाजवाद निर्माणका लागि यो एकता गरिएको उनले बताए। यद्यपि, वर्तमान नेकपा (एमाले) को शैलीले समाजवादसम्म नपुगिने टिप्पणी उनले गरे।
कम्युनिस्ट पार्टीहरू बारम्बार विभाजित हुनुमा आफ्नै कमजोरी र विदेशी षड्यन्त्र दुवै जिम्मेवार रहेको उनले बताए। सुरुदेखि नै कृषि क्रान्तिको एजेन्डा बोकेका कम्युनिस्ट पार्टीहरू सत्तामा पुगेपछि भने त्यो एजेन्डा बिर्सिएकोमा उनले दुःख व्यक्त गरे।
























