जसपा नेपाल २८ बुँदे माग अघि सार्दै धर्नामा

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १५:०६

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना २८ बुँदे माग पूरा गराउन आज (शुक्रबार) सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रशासन कार्यालय अगाडि ३ घण्टा धर्ना दिएको छ ।

मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्रीसहित जसपा नेपालका विभिन्न समितिका नेता र कार्यकर्ताको सहभागितामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । उनीहरूले २८ बुँदे माग लेखिएको प्लेकार्डसहित प्रशासन अगाडि धर्ना दिए ।

जसपा नेपालले विगतदेखि उठाउँदै आएका मागहरूमा संविधान संशोधन, जातीय पहिचानका आधारमा ११ प्रदेशको निर्माण, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था लगायत छन् ।

यस्तै, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रदेशलाई स्वायत्त अधिकार, स्थानीय तहको गैर(दलीय निर्वाचन, सीमान्तकृत समुदायका सबै अधिकार सुनिश्चितता र जेनजी पुस्ताले उठाएका न्यायोचित मागहरू सम्बोधन गर्नुपर्नेसहितका २८ बुँदे माग जसपा नेपालको रहेको छ ।

धर्नामा सहभागी नेताहरूले सङ्घीयता, समावेशिता, पहिचान र सामाजिक न्यायका मुद्दामा सरकारले बेवास्ता गरेको भन्दै कडा आपत्ति जनाए । नेताहरूले संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन नभएकाले मधेश, आदिवासी जनजाति, दलित, मुस्लिम, पिछडावर्ग, महिला तथा अन्य सीमान्तकृत समुदाय निरन्तर वञ्चित भइरहेको आरोप लगाए ।

आफूहरूले अघि सारेको २८ बुँदे माग पूरा गराउन लगातार सङ्घर्षका कार्यक्रमहरू जारी राख्ने जसपा नेपालले जनाएको छ । पार्टीको सप्तरी समितिका सचिव निरज मुक्तिले जानकारी दिँदै आगामी निर्वाचनलक्षित पनि यही २८ बुँदे माग जनतासमक्ष प्रस्तुत गरिने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.