राप्रपा नेपालकी प्रदेश सांसद कञ्चन विच्छा पदमुक्त

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १९, शुक्रबार १५:३२

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालकी मधेश प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ । पार्टीको निर्देशन अटेर गरी सरकारमा सहभागी भएको भन्दै राप्रपाले कारबाही गरेपछि उनलाई पदमुक्त गरिएको हो ।

मधेश प्रदेशसभा सचिवालयले शुक्रबार सूचना प्रकाशन गर्दै विच्छा पदमुक्त भएको जानकारी दिएको छ । सांसद विच्छा नेकपा (एमाले) को नेतृत्वमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम बनेको प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् ।

पार्टीको नीति विपरीत सरकारमा सहभागी भएपछि राप्रपा नेपालले उनलाई तत्काल सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । तर, उनले अटेर गरेपछि पार्टीले प्रदेशसभा सदस्यबाटै निष्कासन गर्ने निर्णय लियो । राप्रपा नेपालले १२ मंसिरमा विच्छाको प्रदेशसभा सदस्य पद खारेज गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो ।

राप्रपाले राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम विच्छालाई प्रदेशसभा सदस्यबाट निष्कासन गरेको हो । प्रदेशसभा सचिवालयले राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा प्रदेशसभा कार्यसञ्चालन सम्बन्धी नियमावली, २०७५ को नियम १९१ बमोजिम सूचना प्रकाशन गरी उनको पद खारेजीको जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.