
विराटनगर । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसपछिको सुरक्षा चुनौतीका कारण विस्थापित भएका पाँचथर जिल्लाका ७ वटा प्रहरी चौकी पुनःस्थापना भएका छन् । सुरक्षा खतरालाई मध्यनजर गर्दै सदरमुकाम केन्द्रित गरिएका ती चौकीहरू स्थानीय बासिन्दाको मागपछि पुनः सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पुनःस्थापना भएका चौकीहरूमा प्रहरी चौकी सिंहापुर, गोपेटार, फलैंचा, अस्थायी प्रहरी पोस्ट भुल्के, ओयाम, थोक्लिम्बा र आङसराङ रहेका छन् । प्रहरी चौकीहरू सदरमुकामसहित विभिन्न चौकीमा गाभिएपछि स्थानीय बासिन्दाले पुनःस्थापनाको माग गर्दै आएका थिए । प्रहरी नहुँदा आपराधिक घटनाहरूमा वृद्धि हुने र आसन्न निर्वाचन सुरक्षामा समेत प्रभाव पर्ने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले विस्थापित चौकीहरूमा चरणबद्ध रूपमा प्रहरी कर्मचारी पठाइएको जानकारी दिए । सिंहापुर र भुल्केमा बिहीबार प्रहरी पुगेका थिए भने अस्थायी प्रहरी पोस्ट ओयाममा शुक्रबार कर्मचारी पठाइयो । अन्य प्रहरी चौकीहरूमा भने केही दिनअघि नै कर्मचारी पुगिसकेको डीएसपी कर्णले बताए । स्थानीयको माग सम्बोधन गर्दै सुरक्षा अवस्थालाई सुदृढ पार्न ती चौकीहरू पुनः सञ्चालनमा ल्याइएको हो ।

























