‘एमाले सरकार ढाल्ने खेलमा लाग्दैन, आगामी चुनावमा एक्लै बहुमतसहित फर्किन्छ’

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २०, शनिबार १६:५६

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिदृश्यमा आफू र आफ्नो पार्टी ‘सत्ता समीकरण’ वा ‘सरकार ढाल्ने’ रस्साकस्सीमा नरहेको स्पष्ट पारेका छन् ।

पार्टीको मुखपत्र नवयुगको विमोचन तथा ई–बुलेटिन शुभारम्भ कार्यक्रममा बोल्दै ओलीले अब हुने प्रतिनिधिसभा चुनावबाट एमाले एक्लै बहुमतसहित सरकारमा फर्किने दाबी गरे । ‘फागुन २१ मा चुनाव गराउने कुनै तयारी सरकारले गरेको छैन,’ उनले भने, ‘तर, चुनाव जहिले भए पनि एमालेले प्राप्त गर्ने जनमतमा कुनै शंका छैन ।’

उनले राजनीतिक रूपमा प्रतिस्पर्धी दलहरूले ‘एमालेलाई रोक्ने’ वा ‘घेराबन्दी गर्ने’ प्रयास गरिरहेका भए पनि ती सबै निष्फल सावित हुने जिकिर गरे । ओलीले भने, ‘हामीलाई महाभारतको अभिमन्यूजस्तै एक्लै पारेर आक्रमण गरिएको छ । तर, एमालेलाई यो शैलीले रोक्न सकिँदैन । जनमतको शक्तिले पछार्छौँ ।’

उनका अनुसार यसअघि पनि पार्टीमाथि संगठित रूपमा हमला भएका थिए । तर, जनताले दिएको विश्वासका कारण एमाले पुनः सत्तामा फर्किएको इतिहास दोहोरिने उनको भनाइ छ ।

अध्यक्ष ओलीले पछिल्ला राजनीतिक गतिविधिलाई अस्थिरता बढाउने प्रयासका रूपमा व्याख्या गर्दै वर्तमान सरकार आफ्नो ‘संवैधानिक दायित्व’ भन्दा बाहिर गएको आरोप पनि लगाए । ‘हाहाको भरमा सरकार चल्दैन,’ उनले भने, ‘पुराना नेताहरू भइसके, अब जेनजीको सरकार भनेर प्रचार गरिए पनि यो कुनै नयाँ सोच वा क्षमताको सरकार होइन ।’

प्रतिनिधिसभा विघटन तथा सरकार गठन प्रक्रियालाई उनले असंवैधानिक भन्दै अदालतले अन्ततः संसद पुनर्स्थापना गर्ने दोहोर्याए । उनले प्रधानमन्त्री सुशीला कार्कीमाथि आफूलाई राजनीतिक रूपमा फसाउनुपर्ने अडानसहित दबाबमूलक गतिविधि गरेको आरोप पनि लगाए ।

उनले भने, ‘प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई बोलाएर मुद्दा चलाउन, प्रमाण जुटाउन, गिरफ्तार गर्न दबाब दिनुभयो । जब उहाँले त्यो झूटो काम गर्न नसक्ने बताउनु भयो, उहाँलाई हटाएर अर्को ल्याइयो ।’ ओलीले राजदूत फिर्ता, अध्यादेश जारीजस्ता सरकारले हालै गरेको निर्णयहरूलाई संवैधानिक सीमाबाहिरका कदम भन्दै आपत्ति जनाए ।

उनका अनुसार सरकारको संरचना, निर्णय र प्राथमिकता सबै ‘आफूले पाएको जिम्मेवारीभन्दा पर’ पुगेकाले मुलुक अनावश्यक जटिलतामा धकेलिएको छ । ओलीले कुनै पनि परिस्थितिमा एमाले सत्ता खेलमा नछिर्ने र जनमतमा आधारित शक्तिशाली विकल्पको रूपमा चुनावबाट उदाउने दाबी गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.