
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईएए) ले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्न लागेको छ। अख्तियारको यो कदमसँगै नेपालको इतिहासमा सबैभन्दा ठूला भ्रष्टाचार प्रकरणमध्ये एकको कानुनी प्रक्रिया सुरु हुन लागेको छ।
अख्तियार स्रोतका अनुसार, यो प्रकरणमा झन्डै ८ अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ। भ्रष्टाचारको आरोपमा ५ जना पूर्वमन्त्री सहित अन्य हाइप्रोफाइल व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ। निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पनि प्रतिवादी बनाउने निर्णय अख्तियारले गरेको छ।
अख्तियारको टोली अहिले मुद्दा दायर गर्नका लागि आवश्यक सम्पूर्ण कागजातसहित विशेष अदालत पुगिसकेको अदालत स्रोतले जनाएको छ। ठूलो संख्यामा उच्च पदस्थ अधिकारी र राजनीतिक नेतृत्वलाई प्रतिवादी बनाइएकोले यो मुद्दाले राष्ट्रिय राजनीतिमा ठूलो हलचल ल्याउने अपेक्षा गरिएको छ।

























