विराटनगरमा ‘साइबर सुरक्षा र लैंगिक हिंसा’ बारे विद्यार्थी सचेतना अभियान

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार १६:५०

विराटनगर । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानलाई लक्षित गर्दै नेपाल युवा संरक्षक मञ्चको आयोजनामा आज (आइतबार) विराटनगरस्थित आदर्श बालिका माध्यमिक विद्यालय मा ‘साइबर सुरक्षा र लैंगिक हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा संस्थाकी अध्यक्ष निसा श्रेष्ठले डिजिटल माध्यममार्फत बढ्दो साइबर अपराध र अनलाइन दुव्र्यवहारबारे सचेतना फैलाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन् ।

उनले बालबालिकालाई लैंगिक हिंसाबाट मुक्त गर्न जोखिम तथा समाधानका उपायबारे व्यवहारिक जानकारी प्रदान गरिएको जानकारी दिइन् ।

अन्तरक्रिया कार्यक्रममा नेपाल घरेलु तथा साना महासंघ मोरङ महिला उद्यम समितिकी निवर्तमान अध्यक्ष सुनिता छाराहाङले मुख्य प्रस्तुति दिएकी थिइन् । उनले डिजिटल माध्यमबाट हुने साइबर अपराधका सकारात्मक तथा नकारात्मक असरबारे विद्यार्थी एवम् उपस्थित सहभागीहरूलाई विस्तृत जानकारी गराइन् ।

विद्यालयका प्रधानाध्यापक रमेश नेपालले पछिल्ला वर्षहरूमा डिजिटल पहुँच बढेसँगै साइबर अपराधमार्फत लैंगिक हिंसा बढी देखिन थालेको भन्दै विद्यालयस्तरमै यस्तो सचेतना अभियान अपरिहार्य भएको उल्लेख गरे । उनले आजको डिजिटल युगमा विद्यार्थीहरूले प्रविधिको सही सदुपयोग गर्नुपर्नेमा जोड दिए।

आयोजकका अनुसार, कार्यक्रमले विद्यार्थीलाई सुरक्षित इन्टरनेट प्रयोगका विधि सिकाउँदै लैंगिक हिंसा अन्त्यमा आफू–आफैँबाटै परिवर्तन सुरू गर्नुपर्छ भन्ने सन्देश दिएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूको सक्रिय उपस्थिति थियो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.