नोबेल र न्यूरो अस्पतालबीच सहकार्य: विपन्नलाई क्यान्सर उपचारमा छुट

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार १७:४४

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालबीच स्वास्थ्य उपचारका लागि सहकार्य गर्ने सम्झौता भएको छ। विराटनगरमा आइतबार भएको सम्झौताले कोशी र मधेश प्रदेशका बिरामीलाई विशेष गरी क्यान्सर उपचारमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ।

सम्झौता कार्यक्रममा नोबेलका सञ्चालक डा. सुनिल शर्मा र न्यूरो अस्पतालका सञ्चालक डा. वीरेन्द्र विष्टको उपस्थिति थियो।
नोबेल अस्पतालका सञ्चालक डा. शर्माले यस सहमतिले बिरामीलाई भरपर्दो, सहज र सहुलियतपूर्ण उपचार उपलब्ध हुने बताएका छन्। उनले न्यूरो अस्पतालबाट क्यान्सरसम्बन्धी परामर्श वा उपचार आवश्यक भई समन्वय गर्ने बिरामीहरूलाई नोबेलले प्राथमिकता र उपचार खर्चमा छुट दिने घोषणा गरे।

न्यूरो अस्पतालमा उपचार सेवा लिएका अति विपन्न १० जना बिरामीलाई रेफरका आधारमा क्यान्सर उपचारको रेडिएसन सेवा निःशुल्क गराइनेछ। ५०% छुट: न्यूरोबाट रेफर भएका आर्थिक विपन्न अन्य १० जना बिरामी लाई उपचार सेवामा ५० प्रतिशत छुट दिइनेछ। डा. शर्माले नोबेलले हाल मृगौला प्रत्यारोपणमा २५ प्रतिशत छुट दिँदै आएको समेत जानकारी दिएका छन्।

सम्झौतामा बिरामीको उपचार समयमै सुनिश्चित गर्ने विषयलाई जोड दिइएको छ। त्यसैगरी दुवै अस्पतालबीच निम्न क्षेत्रमा सहकार्य गर्ने, दुवै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीका लागि सीप विकास तालिम सञ्चालन गर्ने सहमति भएको छ । संयुक्त रूपमा नियमित मेडिकल शिक्षा, कार्यशाला, र अभिमुखीकरण लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने सहमति भएको छ ।

न्यूरो अस्पतालका सञ्चालक डा. विष्टले यस सम्झौताले कोशी र मधेश प्रदेशका क्यान्सर उपचारमा ठूलो सहजता र सहुलियत ल्याउने विश्वास व्यक्त गरे। सम्झौतापत्रमा नोबेलतर्फबाट अस्पताल निर्देशक प्रा.डा. अशोक कोइराला र अन्कोलोजी विभाग प्रमुख प्रा.डा. भोलाप्रसाद रौनियार तथा न्यूरो अस्पतालतर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराई र अस्पताल प्रबन्धक सुरेशकुमार आचार्यले हस्ताक्षर गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.