
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीको नेतृत्व छनोट स्वस्थ प्रतिस्पर्धाबाट हुनुपर्नेमा जोड दिएका छन् । उनले प्रतिस्पर्धा नै पार्टीलाई बलियो बनाउने प्रमुख आधार रहेको बताए ।
बागबजारस्थित एक होटलमा आज (सोमबार) आयोजित अन्तरसम्वाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले पछिल्लो समय पार्टीमा आन्तरिक लोकतन्त्रको प्रक्रियामा गम्भीर विचलन आएको आरोप लगाए ।
उपाध्यक्ष पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीकै अगुवाइमा पार्टीको लोकतान्त्रीकरण गरिएको भए पनि अहिले सो प्रक्रिया ुमास्नेु काम भइरहेको बताए । उनले पार्टी व्यक्तिवादीमा रूपान्तरण हुन थालेको र यसले पार्टीलाई ठूलो क्षति पुर्याइरहेको बताए ।
‘एमाले व्यक्तिवादी पार्टीमा रूपान्तरण गर्ने कुरा हुँदैछ, यसले पार्टीलाई क्षति गर्दैछ। यसलाई बदल्नुपर्छ। नबदलिए नयाँ पुस्ता पार्टीमा आउँदैन’ उनले भने। उपाध्यक्ष पाण्डेले पार्टीमा व्यक्तिवाद हावी हुन नदिनका लागि कानुनमा नै अध्यक्षको कार्यकाल दुई अवधिको मात्र हुने व्यवस्था गरिनुपर्ने माग गरे ।
एमाले मात्र नभएर अन्य पार्टी र नयाँ भनिएका पार्टीहरूमा समेत लोकतान्त्रिक प्रक्रिया नरहेको बताउँदै उनले पार्टी नेतृत्वको समयावधि संविधानमा नै व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याए ।
























