एमाले महाधिवेशन प्रतिनिधि विवाद टुंगियो: ओखलढुंगा र धनकुटामा सहमति

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १५:३५

विराटनगर । नेकपा (एमाले) को ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटमा ओखलढुंगा र धनकुटा जिल्लामा देखिएको लामो विवाद अन्ततः टुंगिएको छ । केन्द्रको हस्तक्षेप र दबाबपछि दुवै जिल्लामा राजनीतिक सहमतिको आधारमा विवाद समाधान गरिएको हो ।

ओखलढुंगामा यसअघि छनोट भएका १२ जना प्रतिनिधि सबै पार्टी अध्यक्ष केपी शर्मा ओली इतर पक्षधर (पोखरेल पक्ष) थिए । आफू पक्षका कुनै पनि प्रतिनिधि छनोट नभएपछि ओली पक्षले असन्तुष्टि जनाउँदै पुनः निर्वाचनको माग गरेको थियो ।पटकपटकको छलफलपछि अन्तिममा विवाद समाधानका लागि सहमतिको बाटो अपनाइएको छ ।

ओली पक्षलाई ४ प्रतिनिधि: पूर्वजिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारीलाई महाधिवेशन प्रतिनिधि बनाइयो । बाँकी ८ जना (जिल्ला अध्यक्ष जीबी खड्का, अम्बिरबाबु गुरुङ, कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे) पोखरेल पक्षका यथावत छन् ।

संस्थापन इतर पक्षले मङ्सिर १३ गतेको प्रतिनिधि चयन प्रक्रिया बहिष्कार गरेको थियो, जसलाई ४ सिट दिएर मिलाइएको हो । उता, धनकुटामा पनि निर्वाचन जितेका प्रतिनिधि फिर्ता बोलाएर असन्तुष्ट पक्षका उम्मेदवारलाई अवसर दिइएपछि विवाद समाधान भएको छ । मङ्सिर १३ गते भएको निर्वाचनमा कोशी प्रदेश सचिवालय सदस्य इन्द्रमणि पराजुली पक्षले बहिष्कार गरेको थियो । निर्वाचनबाट संस्थापन राजेन्द्र राई पक्षका उम्मेदवारहरू भारी मतका साथ विजयी भएका थिए ।

पराजुली पक्षले केन्द्रमा उजुरी दिएपछि केन्द्रीय कार्यालयले स्वच्छ निर्वाचन नभएको ठहर गर्दै पुनः प्रतिनिधि छनोट गर्न निर्देशन दिएको थियो । केन्द्रको निर्देशनपछि भएको सहमतिमा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्र राई पक्षले त्याग देखाउँदै निर्वाचन जितेका आफ्ना दुई प्रतिनिधि (शान्तिराम गौतम र अर्जुन छाराहाङ) लाई फिर्ता बोलाए । उनीहरूको स्थानमा पराजुली पक्षका निरेन तामाङ र मनोज राई प्रतिनिधि चयन भएका छन् । यस सहमतिसँगै दुवै जिल्लामा महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.