
विराटनगर । काठमाडौँमा गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मोरङ, बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका सहिद श्रेयम चौलागाईंको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
सोमबार मोरङको डांगीस्थित दीपज्योति आधारभूत विद्यालयमा आयोजित श्रद्धाञ्जली सभासँगै विद्यालयमा अध्ययनरत १४६ जना विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ ।
ज्याकेटमा श्रेयमको फोटो, भावुक बने विद्यार्थी
श्रेयमको परिवारद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई न्यानो कपडा, ज्याकेट र स्टेशनरी सामग्री वितरण गरियो । वितरण गरिएका ज्याकेटहरूमा श्रेयमको फोटो प्रिन्ट गरिएको थियो, जसले विद्यार्थी र स्थानीयहरूलाई भावुक बनाएको थियो ।
कार्यक्रममा सहभागीहरूले सहिद श्रेयमप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले समाजमा देखाएको सक्रियता, साहस र न्यायप्रतिको चाहनालाई स्मरण गरे। उनीहरूको निधनले परिवार, समाज र आन्दोलनलाई परेको क्षतिप्रति सबैले गहिरो दुःख व्यक्त गरे ।
सहिद श्रेयमका बुवा गणेश चौलागाईं, जेनजी आन्दोलनका अभिभावक तथा अभियन्ता माधवसुन्दर खड्का, नेत्री एलिजा गौतमलगायतले विद्यार्थीहरूलाई सामग्री वितरण गरे ।
विद्यार्थीहरूलाई सम्बोधन गर्दै अभिनेत्री एलिजा गौतमले शिक्षा, अनुशासन र सकारात्मक सोच नै कुनै पनि बालक तथा युवाको वास्तविक शक्ति भएको बताइन् । उनले विद्यार्थीहरूलाई भोलिको नेतृत्वकर्ता र परिवर्तनका वाहक बन्न आग्रह गर्दै सही सोच, राम्रो शिक्षा र सकारात्मक शैलीले राष्ट्रलाई नयाँ दिशामा अघि बढाउन प्रेरणा दिइन् ।
सरकारसँग न्यायको माग
जेनजी आन्दोलनका अभिभावक माधवसुन्दर खड्काले श्रेयमको मृत्युलाई न्याय दिलाउन सरकारसँग जोडदार माग गरे । उनले जेनजी आन्दोलनका दोषीहरूलाई तत्काल कारबाही गर्न र राज्यको सम्पत्तिमाथि वर्षौंदेखि भएको भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही तथा उक्त सम्पत्तिलाई राष्ट्रियकरण गर्नसमेत माग गरे ।
श्रेयमका बुवा गणेश चौलागाईंले छोराको आत्माको शान्तिको लागि आफ्नै गाउँका विद्यार्थीलाई सहयोग गर्ने निर्णय गरेको बताए। उनले आफ्नो छोराले अन्यायका विरुद्ध लड्दा ज्यान गुमाएको जानकारी दिए ।
श्रद्धाञ्जली सभामा स्थानीय प्रतिनिधि, अभिभावक, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूले श्रेयमले देखाएको संघर्ष, चेतना र साहस आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे ।

























