मन्त्रालयलाई पाख्रीबासका मेयरको पत्र : ‘गाई भैँसी बियाउन रोकिएका छैनन्’

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २२, सोमबार १७:४७

विराटनगर । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवाप्रति धनकुटाको पाख्रीबास नगरपालिकाका नगर प्रमुख (मेयर) ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनौठो एवं व्यङ्गात्मक हिसाबको पत्र लेखेका छन् ।

प्रशासनिक मर्यादा र भाषाशैली विपरीत प्रमुख प्रशासकीय अधिकृत सरुवाको विरोधमा मेयरले मन्त्रालयलाई पत्र लेखेका हुन् । पत्रमा उनले प्रमुख प्रशासकीय अधिकृत दिनैपिच्छे परिवर्तन गर्दा पनि काम नरोकिने भनेर व्यङ्ग्य गरेका छन् ।

पत्र लेख्ने मेयर गुरुङको मोबाइल अफ छ । उपप्रमुख नम्रता गौतमका अनुसार समयावधि नपुगी प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको थियो ।

सामान्यतया १ वर्षमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्ने परम्परा छ । पालिकामा हाजिर भएको ८ महिनामा प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाको सरुवा भएको थियो ।

उनको स्थानमा आउने प्रमुख प्रशासकिय अधिकृतको टुंगो छैन । मेयरले पत्र लेखेको विषयमा भने उपमेयरले कुनै प्रतिक्रया दिन मानिन् ।

नगर प्रमुख गुरुङले सोमबार पठाएको पत्रमा प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक र आर्थिक कामकाजमा असर परेको गुनासो गर्नुको साटो दिनदिनै १–१ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्दा पनि फरक नपर्ने उल्लेख छ । उनले लेखेको पत्रमा भनिएको छ ,‘पाख्रीबास नगरपालिकामा दैनिक प्रशासनिक र आर्थिक कामकाज हुँदा र नहुँदा यस क्षेत्रमा धान फल्न, दाइँ गर्न, थन्क्याउन, बालीनाली लगाउन, गाई भैँसी बियाउन, दूध उत्पादन गर्न कुनै समस्या नरहेकोले तहाँ मन्त्रालयबाट प्रत्येक महिना–महिनामा वा सम्भव भए दिनदिनै छुट्टा–छुट्टै १–१ जना प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकेर पठाउँदा पनि फरक नपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

मेयरले मन्त्रालयलाई व्यङ्गात्मक हिसाबले लेखेको पत्रको चौतर्फी चर्चा छ । अहिले त्यो पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृतको जथाभावी र मनपरी हिसाबले सरुवा गर्ने क्रम नरोकिएपछि मेयर गुरुङले व्यङ्गात्मक हिसाबले पत्र लेख्दै संघीय सरकारको आलोचना एवं विरोध गरेका हुन् ।

यस्तो छ मन्त्रालयलाई मेयरले लेखेको पत्र

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.