देउवा डडेलधुराबाट आठौँ पटक भिड्ने तयारीमा

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २३, मंगलबार १३:५४

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् । २०४८ सालदेखि अविच्छिन्न रूपमा सोही क्षेत्रबाट निर्वाचन लड्दै र जित्दै आएका देउवाले यस पटक ‘अन्तिम पटकका लागि’ उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

कांग्रेसले मंसिर १५ गते नै मातहतका पार्टी कार्यालयलाई परिपत्र गर्दै मंसिर मसान्तभित्र उम्मेदवार बन्नेको नाम सिफारिस गर्न निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेको परिपत्रमा एउटा निर्वाचन क्षेत्रबाट दुई पुरुष र एक महिला गरी तीन जनाको नाम सिफारिस गर्न भनिएको छ ।

यता देउवाले पनि आफूलाई भेट्न जाने नेताहरूलाई जिल्लावासी र पार्टीका नेता कार्यकर्ताको माग अन्तिम पटक निर्वाचन लडोस् भन्ने रहेकाले त्यसैका लागि तयार रहेको बताउने गरेका छन्। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्टले मंगलबार बिहान देउवालाई भेट्दा ‘अन्तिम पटकका लागि लड्ने तयारी गरेको’ बताएको जानकारी दिएका छन्।

देउवा २०४६ सालको जनआन्दोलन सफल भएपछि अहिलेसम्म भएका सबै निर्वाचन लड्ने र अपराजित रहने एक मात्र नेता हुन्। उनी २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा गरी सात पटक लगातार निर्वाचित भइसकेका छन्। सात पटक प्रतिस्पर्धा गरेर निर्वाचित भएका देउवा यो निर्वाचनमा आठौँ पटक भिड्ने तयारीमा छन्। देउवा २०४८ सालमा गृहमन्त्री बनेका थिए भने ५ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.