
काठमाडौं । जेनजी आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका टीओबी समूहका तेन्जिन दावा लामाविरुद्ध करिब तीन महिना लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
उनीविरुद्ध लागुऔषधको कसुर, नागरिकता कीर्ते, राहदानी कीर्ते र राष्ट्रिय परिचयपत्र कीर्ते गरी तीन किसिमका कसुरमा मुद्दा दायर भएको छ। प्रहरीले उनको कोठाबाट गाँजा बरामद भएकाले लागुऔषधको कसुरमा पनि मुद्दा चलाइएको बताएको छ।
त्यसैगरी, उनीबाट प्राप्त नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र समेत कीर्ते भेटिएपछि लिखतसम्बन्धी कसुरमा मुद्दा दायर भएको हो। गलत विवरण पेस गरेर तेन्जिनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको र सोही आधारमा राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाएको आरोप छ। तिब्बतीयन मूलका तेन्जिनले आफ्नो नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख गरेका थिए तर बाबु भनिएका व्यक्तिले समेत तेन्जिनलाई नचिन्ने बताएपछि नागरिकता गलत विवरण पेश गरेर लिएको प्रहरीको भनाइ छ।
तेन्जिनविरुद्धको मुद्दा अहिले न्यायाधीश तेजबहादुर खड्काको इजलासमा परेको छ। बयान सकिएपछि थुनछेक बहस हुनेछ र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने वा साधारण तारेख तथा धरौटीमा रिहा गर्नेमध्ये एक आदेश आउनेछ।
यसअघि, उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो र त्यतिबेला काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५ सय रुपैयाँ धरौटी माग भएको थियो। तर लागुऔषध र कीर्तेको अनुसन्धान जारी रहेकाले प्रहरीले उनलाई हिरासतमै राखेको थियो।
जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा अनुसन्धानको रडारमा रहेको टीओबी समूहको साइनो ‘फ्रि तिब्बत’ सँग नभएको प्रहरीले तीन महिना लामो अनुसन्धानपछि निष्कर्ष निकालेको छ।

























