
विराटनगर । माेरङमा नेपाली कांग्रेसकाे क्षेत्रिय समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेकाे छ । जिल्लाका ६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुईवटा क्षेत्रबाट एकल नाम सिफारिस भएको छ भने अन्य क्षेत्रबाट आकांक्षीहरूको सूची जिल्ला समितिमा पठाइएको छ ।
नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीका अनुसार क्षेत्रीय समितिहरूले सर्वसम्मत र बहुमतका आधारमा उम्मेदवारहरूको नाम सिफारिस गरेका हुन् ।
कांग्रेसको ‘हेविबट’ नेता डा. शेखर कोइरालाको नाम क्षेत्र नम्बर ६ बाट एकल सिफारिस भएको छ । २०७९ सालको निर्वाचनमा डा. कोइराला सोही क्षेत्रबाट विजयी भएका थिए ।
क्षेत्र नम्बर ३ बाट मेडिकल व्यवसायी डा. सुनिल शर्माको नाम पनि एकल सिफारिस गरिएको छ । कम्युनिष्टहरूको बलियो प्रभाव क्षेत्र मानिने यस क्षेत्रबाट गत निर्वाचनमा शर्माले जित हासिल गरेका थिए ।
कुन क्षेत्रमा को-को भए सिफारिस ?
क्षेत्र नम्बर १ : यो क्षेत्रबाट कांग्रेस मोरङका सभापति एवं पूर्वमन्त्री डिकबहादुर लिम्बू, कोशी प्रदेश सहमहामन्त्री खड्ग फागो र महिला नेतृ दिव्या बस्नेतको नाम सिफारिस भएको छ। लिम्बू यस क्षेत्रका निवर्तमान सांसद हुन् ।
क्षेत्र नम्बर २ : पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसहित तीन जनाको नाम सिफारिस भएको छ । रिजालसँगै प्रदेशसभाका पूर्वसांसद शिवनारायण सिंह र महिला तर्फ नारायणी पण्डित सिफारिसमा परेका छन् । रोचक कुरा के छ भने, २०७९ को निर्वाचनमा उम्मेदवार बनेकी नेतृ सुजाता कोइरालाको नाम यसपटक सिफारिस भएको छैन ।
क्षेत्र नम्बर ४ : यस क्षेत्रबाट सिफारिस हुनेमा पूर्वमन्त्री महेश आचार्य, संविधानसभा सदस्य दिलिपकुमार गच्छदार, नेता गुरुराज घिमिरे र क्षेत्रीय सभापति विनोद बस्नेत र महिला तर्फ दुर्गा कोइरालाको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर ५ : मोरङको क्षेत्र नम्बर ५ बाट हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम सिफारिस भएकाे छ ।
जिल्ला उपसभापति माझीका अनुसार बुधबारसम्म सबै क्षेत्रबाट उम्मेदवारहरूको नामावली जिल्ला समितिमा आइपुग्ने छ ।
























