अभियन्ताको एक स्वरः शीर्ष भ्रष्ट पात्रलाई दण्डित गर

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २४, बुधबार १०:२५

विराटनगर । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले देशका विभिन्न जिल्लामा सडक प्रदर्शन गरेको छ। यसै क्रममा समाजको मोरङ शाखाले विराटनगरमा भ्रष्टाचार विरुद्ध सशक्त आवाज उठाएको छ।

मोरङ शाखाद्वारा विराटनगर मेनरोडस्थित पञ्चमुखी हनुमान मन्दिर नजिक करिब डेढ घण्टासम्म सडक ब्यानर प्रदर्शन गरिएको थियो। प्रदर्शनका क्रममा ‘भ्रष्ट पात्र र प्रवृत्तिलाई इतिहासले खारेज गरिसक्यो’, ‘शीर्ष भ्रष्ट पात्रलाई दण्डित गर्नु सुशासनको माग हो’, ‘भ्रष्ट शीर्ष नेतालाई कारबाही खोइ?’, ‘नयाँ सरकार पनि पुरानै मार्गमा अग्रसर किन?’, र ‘सुशासनका लागि आर्थिक दण्डहीनता अन्त्य गर’ जस्ता नाराहरू लेखिएका ब्यानरहरू प्रदर्शन गरिएको थियो।

प्रदर्शनका क्रममा बोल्दै शान्ति समाजका केन्द्रीय उपाध्यक्ष धन थापाले सबैले जिम्मेवारी, उत्तरदायित्व र इमानदारीताको आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “भ्रष्ट र कुशासनबाट ग्रसित हाम्रो मुलुक नेपालमा भ्रष्ट नेतालाई कारबाही गरी भ्रष्ट प्रवृत्तिलाई पूर्ण रूपमा निस्तेज पार्नुपर्छ। सुशासनको माध्यमबाट नागरिकमा आशा जगाउनु नै सरकारको दायित्व र जिम्मेवारी हो।”

थापाले जेन्जी आन्दोलनपछि बनेको नागरिक सरकारको मुख्य जिम्मेवारी भ्रष्टाचारीलाई कारबाही गर्दै सुशासनको प्रत्याभूति दिलाउनु र समयमै चुनाव गराएर मुलुकलाई निकास दिनु रहेको बताए। उनले भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा समाजले विभिन्न जिल्लामा सडक ब्यानर प्रदर्शन तथा नागरिक संवाद गर्दै आएको जानकारी दिए।

मोरङ सभापति प्रा. डा. जीवन कुमार ढकालले भ्रष्टाचारले सुशासनलाई कमजोर बनाउने र शक्तिको दुरुपयोग गरी देशलाई आर्थिक रूपमा खोक्रो पार्ने प्रवृत्ति मौलाएको औंल्याए। उनले भ्रष्टाचारलाई ‘धमिरा प्रवृत्ति’ को संज्ञा दिँदै भने, “यदि यसलाई समयमै रोक्न सकिएन भने भावी पुस्ताले दिगो विकासका योजनाहरू, शिक्षा, रोजगार, विकास र अन्तर्राष्ट्रिय सम्बन्धमा गम्भीर समस्या भोग्नुपर्नेछ। नेपालमा विकासको परिकल्पना गर्नु दिवास्वप्न मात्र हुनेछ।”

उक्त प्रदर्शनमा मोरङ सभापति प्रा. डा. जीवन कुमार ढकाल, केन्द्रीय उपाध्यक्ष धन थापा, मोरङ कार्यसमितिका उपाध्यक्ष अशोक लामा, सचिव केदार पौडेल, कार्यसमिति सदस्य तथा आजीवन सदस्यहरू लक्ष्मी चौधरी युग्मी र लक्ष्मी आचार्य पोखरेल लगायत मानवअधिकारकर्मीहरूको सहभागिता थियो।

कार्यक्रममा उपस्थित सबैलाई मोरङ शाखाका उपाध्यक्ष अशोक लामाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन मोरङ सचिव केदार घिमिरेले गरेका थिए। अन्य वक्ताहरूले पनि नेपाललाई भ्रष्टाचारमुक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा चिन्ता व्यक्त गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.