
बुटवल । बहुविवाहसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाललाई पक्राउ गरेको छ । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले दिएको जानकारी अनुसार डीएसपी नेपालकी श्रीमतीको उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी लिई उनलाई नियन्त्रणमा लिइएको हो ।
एसपी क्षेत्रीका अनुसार बहुविवाहको उजुरी परेपछि डीएसपी नेपाल आफैँ हिजो साँझ रुपन्देही प्रहरी कार्यालयमा उपस्थित भएका थिए। त्यसपछि उनलाई पक्राउ गरी ३ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ। प्रहरीले हाल बहुविवाहसम्बन्धी थप प्रमाणहरू बुझ्ने काम गरिरहेको र डीएसपी नेपालकी दोस्रो श्रीमतीको खोजी पनि भइरहेको जनाएको छ।
डीएसपी नेपालको विगत पनि विवादित रहेको थियो। उनी प्रहरी निरीक्षक हुँदा बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्जको रूपमा कार्यरत थिए । त्यसबेला गाँजाको कारोबारसँग सम्बन्धित आर्थिक कारोबारमा संलग्न भएको पाइएपछि उनलाई विभागीय कारबाहीसमेत गरिएको थियो।

























