
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि अघिल्लो परिपत्रमा तोकिएको मापदण्ड र सङ्ख्याबमोजिम मात्र उम्मेदवार सिफारिस गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिहरूले मापदण्डविपरीत उम्मेदवारको नाम सिफारिस गर्न लागेपछि कांग्रेस केन्द्रले बिहीबार पुनः यो निर्देशन दिएको हो।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल द्वारा जारी परिपत्रमा भनिएको छ, “तोकिएको मापदण्ड र तोकिएको संख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देश भएको सन्दर्भमा… पार्टीको परिपत्र र नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुन: गम्भीर ध्यानाकर्षण गराइन्छ।”
कांग्रेसले यसअघि मंसिर १५ र १७ गते परिपत्र गरी उम्मेदवार सिफारिसको मापदण्ड तोकेको थियो। प्रतिनिधिसभा (प्रत्यक्ष) मा पार्टी विधानको योग्यता पुगेका व्यक्तिमध्येबाट बढीमा एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनिएको थियो। प्रतिनिधिसभा (समानुपातिक) मा समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तिमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर पठाउन निर्देशन दिइएको थियो।
राष्ट्रियसभामा मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाममध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति वा बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउने उल्लेख गरिएको थियो। कांग्रेसका क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरूले केन्द्रले निर्धारण गरेको मापदण्ड र सङ्ख्या मिचेर धेरै उम्मेदवारहरूको नाम सिफारिस गरिरहेको गुनासो आएपछि केन्द्रले पुनः गम्भीर ध्यानाकर्षण गराएको हो।
























