
काठमाडौँ । भारतको पर्यटकीय गन्तव्य गोवाको एक नाइटक्लबमा भएको आगलागीमा परी ज्यान गुमाएका ५ जना नेपालीको शव परिवारलाई हस्तान्तरण गरिएको छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृत्यु भएका पाँचमध्ये ४ जनाको शव मङ्गलबार र बुधबार गरेर नेपाल पठाइएको थियो।
दूतावासका नायब प्रमुख सुरेन्द्रबहादुर थापाका अनुसार १ जना मृतकको शव भने परिवारका सदस्यले भारतमै बुझेर हरिद्वारमा अन्त्येष्टि गरिसकेका छन्। आगलागीमा दाङ, घोराहीका चूर्णबहादुर पुन, सिन्धुली, दुधौलीका लीलबहादुर कटवाल (विवेक क्षेत्री), झापाका सविन विश्वकर्मा, डडेलधुराका मनोज झोरा र टिकाराम विक को मृत्यु भएको थियो। सिन्धुली दुधौलीका विवेक क्षेत्री रोजगारीको सिलसिलामा विगत ५ वर्षदेखि गोवाको सोही नाइटक्लबमा काम गर्दै आएका थिए।
भारतीय अधिकारीहरूका अनुसार आगलागीको उक्त घटनामा ५ जना पर्यटकसहित जम्मा २५ जनाको मृत्यु भएको थियो। गोवाका अग्नि नियन्त्रक प्रमुख नितिन भी. राइकरले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै आगो पार्टी चलिरहेको बेला ‘फायर शो’ हुँदा काठका संरचनामा फैलिएको बताए। आगो लागेपछि भवनभरि धुवाँ फैलिँदा धेरै व्यक्ति बाहिर निस्कन नसक्दा ज्यान गुमाउनुपरेको उनको भनाइ छ।

























