
काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरूसँग अवैध रूपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध मुद्दा चलाएको हो। अख्तियारले २०८१ चैत ७ मा भट्टराईलाई पक्राउ गरेपछि यो भिजिट भिसा प्रकरण सतहमा आएको थियो।
यो प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकको नाम पनि मुछिएको थियो। उनकै योजना र सेटिङमा सहसचिव भट्टराईलाई एयरपोर्ट पठाइएको र त्यहाँबाट असुली धन्दा चलेको आरोप लागेको थियो। घटना सार्वजनिक भएपछि विपक्षी दलहरू माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठकसमेत अवरुद्ध गरेका थिए।
भिजिट भिसामा विदेश जाने नेपाली नागरिकले बैंकमा पर्याप्त खातादेखि गन्तव्य मुलुकको होटल बुकिङ लगायतका विभिन्न मापदण्डहरू पूरा गर्नुपर्ने व्यवस्था छ। तर, अध्यागमनका कर्मचारीहरूले विभिन्न म्यानपावर र मानव तस्करी गर्ने एजेन्सीहरूसँग मिलेर असुली गर्ने र सेटिङबाट आएकाहरूलाई मात्र विदेश पठाउने ‘धन्दा’ चलाएका थिए।

























