मोरङ कांग्रेसको उम्मेदवार सिफारिस : प्रत्यक्षका आकांक्षी समानुपातिकमा

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार १८:१६

विराटनगर । नेपाली कांग्रेस मोरङका क्षेत्रीय समितिहरूले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम जिल्ला समितिमा सिफारिस गरेका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा प्रत्यक्षतर्फ दाबी गरिरहेका केही प्रभावशाली नेताहरूको नाम भने समानुपातिक सूचीमा समेटिएको छ ।

क्षेत्र नम्बर ३ र ६ बाट प्रत्यक्षतर्फ एकल उम्मेदवारको नाम सिफारिस भएको छ भने अन्य क्षेत्रबाट एकभन्दा बढी आकांक्षीहरूको नाम पठाइएको छ ।

यस्ताे छ क्षेत्रगत सिफारिस

क्षेत्र नं. ६ : यस क्षेत्रबाट डा. शेखर कोइरालाको नाम सर्वसम्मत (एकल) सिफारिस भएको छ । प्रत्यक्षतर्फका आकांक्षी एवं राष्ट्रिय सभाका पूर्व संसदीय दलका नेता रमेशजंग रायमाझी र डा. डिला संग्रौलाको नाम भने समानुपातिक सूचीमा राखिएको छ । उनीहरूसँगै रुक्मीणी कोइराला, प्रमिलाकुमारी गच्छदार, मृदुला कोइराला, सीता पोखरेल र सरिता थापा मगर समानुपातिकमा सिफारिस भएका छन् ।

क्षेत्र नं. ३ : याे क्षेत्रमा मेडिकल व्यवसायी डा. सुनिल शर्माको एकल नाम सिफारिस भएको छ । यो क्षेत्रमा प्रत्यक्षतर्फका आकांक्षी तथा पूर्वप्रदेश सांसद सुयर्माराज राईको नाम समानुपातिक सूचीमा राखिएको छ । बसन्त भट्टराई, अताबुल मन्सुर, भैसीदेवी खवास, पम्फा धिमाल, रुक्मीणी धिमाल र रेखबहादुर तामाङ पनि समानुपातिकमा सिफारिस भएका छन् ।

क्षेत्र नं. १: याे क्षेत्रबाट पूर्वमन्त्री डिकबहादुर लिम्बू, कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो र दिव्या बस्नेतको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । समानुपातिकतर्फ सीता कार्की र इन्दुदेवी चौधरीको नाम सिफारिस भएको छ ।

क्षेत्र नं. २: यस क्षेत्रबाट पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल, पूर्वप्रदेश सांसद शिवनारायण सिंह र नेत्री नारायणी पण्डितको नाम प्रत्यक्षतर्फ सिफारिस  भएकाे छ । २०७९ सालको निर्वाचनमा प्रत्यक्षतर्फ पराजित भएकी नेतृ सुजाता कोइरालाको नाम यसपटक समानुपातिक सूचीमा राखिएको छ ।

क्षेत्र नं. ४: याे क्षेत्रमा पूर्वमन्त्री महेश आचार्यसहित दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे, विनोद बस्नेत र दुर्गा कोइरालाको नाम प्रत्यक्षतर्फ सिफारिस भएको छ । समानुपातिकतर्फ भक्तिनाथ माझी, विश्वनाथ रिजाल, रामकुमार विश्वकर्मा, उदय राजवंशी, चन्दन चौधरी, मनोज परियार र विजय माझीको नाम सिफारिसमा परेको छ ।

क्षेत्र नं. ५: यस क्षेत्रमा प्रत्यक्षतर्फ हसन अन्सारी, राजेश गुप्ता, फुलकुमार लालवानी, फैयाज अहमद र निर्मला सुवेदीको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ रामनारायण केवरत, अर्जुन निरौला, सुवोधकुमार सिंह, जंगदेव साह, कमला श्रेष्ठ, आश्विनी मण्डल र मिना मुर्मुको नाम पठाइएको छ ।

नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूका अनुसार, क्षेत्रीय समितिहरूले सिफारिस गरेका नामहरू जिल्ला समितिले अब प्रदेश समितिमा पठाउनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.