कोशी प्रदेशमा सीटी सफारी लक्षित ‘सुरक्षित चालक’ अभियान सञ्चालनको तयारी

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २५, बिहीबार १८:३३

विराटनगर । कोशी प्रदेशमा सीटी सफारीलाई लक्षित गरेर ‘सुरक्षित चालक’ अभियान सञ्चालनको तयारी गरिएको छ । सफारीका अधिकांश चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) छैन ।

जथाभावी र ट्राफिक नियमको उल्लंघन गरेर कुदाइने सफारीका कारण सहरी क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गइरहेको छ । दैनिक हजारौँ यात्रु बोकेर सहरभित्र चल्ने साना विद्युतीय तीनचक्के सवारीसाधनलाई नियमन र सुरक्षा अनुशासनमा ल्याउन नसक्दा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा भएको छ ।

प्रदेशको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सीटी सफारी लक्षित ‘सुरक्षित चालक’ अभियान सञ्चालनको तयारी गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताए । २ साताअघि मात्रै कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका घिमिरेले बिहीबार विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा पत्रकारसँग परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्दै सफारी व्यवस्थापन सम्बन्धी आगामी अभियानका बारेमा जानकारी दिएका हुन् ।

उनका अनुसार ‘सुरक्षित चालक’ अभियान चलाएर पहिचानका लागि सीटी सफारी चालकलाई पोसाकका रूपमा अनिवार्य टी–सर्ट वितरण गरेर चालकको व्यवहार, सवारी सञ्चालन, ट्राफिक नियम पालन र यात्रुको सुरक्षालाई सुनिश्चित गरिने छ । पोसाक वितरण गर्दै आवश्यक मापदण्ड जाँच गरी चालकलक्षित तालिम र चेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

घिमिरेका अनुसार यात्रुलाई पनि पोसाक लगाएका चालकले चलाएको सीटी सफारीमा मात्रै यात्रा गर्न आह्वान गरिने छ । ‘सफारी चालकलाई आवश्यक प्रशिक्षण दिएर पोसाक वितरण गर्दै प्रहरीको अभियानका बारेमा यात्रुहरूलाई समेत सचेत गराइने छ,’ उनले भने, ‘जसअनुसार ‘सुरक्षित चालक’ लेखिएको पोसाक (टी–सर्ट) लगाएका चालकले चलाएको सफारीमै यात्रा गर्न यात्रुलाई आग्रह गरिने छ ।’

सीटी सफारीलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत तत्काल काम थालिएको जानकारी घिमिरेले दिए । कोशी प्रदेश सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार प्रदेशभर झण्डै ६० हजार हाराहारी सीटी सफारी सञ्चालनमा छन् ।

ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन त्यही हिसाबको योजना बनाएर काम गरिने जानकारी घिमिरेले दिए । विराटनगरलगायतका सहरी क्षेत्रमा ट्राफिक निकै अव्यवस्थित बनेको उनले स्वीकार गरे । बढ्दो सवारी चाप, सडकको जथाभावी प्रयोग, नियम नमान्ने चालक र कमजोर अनुगमनलगायतका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको छ ।

सीटी सफारीलाई सुरक्षित बनाउन, सवारी चालकलाई अनुशासनमा ल्याउन, यात्रु सुरक्षा सुनिश्चित गर्न र ट्राफिक व्यवस्थापनलाई सहज बनाउँदै सुधार गर्न विशेष अभियान चलाउने तयारी भइरहेको डीआईजी घिमिरे बताउँछन् । ‘नागरिकलाई तत्काल अनुभूति हुने यो क्षेत्रमा सुधार गरिने छ,’ उनले भने, ‘ट्राफिक समस्यालाई समाधान गर्दै सवारी सञ्चालन व्यवस्थित बनाउन हामीले कडा कदम चाल्दैछौँ ।’

डीआईजी घिमिरेले प्रदेशको सुरक्षा प्रणालीलाई प्रभावकारी, भरोसायोग्य र नागरिकमैत्री बनाउने उद्देश्यसहितका प्रारम्भिक कार्ययोजना सार्वजनिक गरेका छन् । उनले आगामी दिनमा प्रदेशमा प्रहरीको प्राथमिकता, चुनौती र समाधानका मार्गचित्रका बारेमा स्पष्ट पारेका छन् ।

डीआईजी घिमिरेले चुनौतीपूर्ण एवं जटिल बनिरहेको प्रदेशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जनताको विश्वास जित्न प्रहरी संगठनलाई आन्तरिक रूपमै बलियो र अनुशासित बनाइने बताए । जेनजी आन्दोलनपछि प्रहरीले मनोबल गुमाएको चर्चा भए पनि कोशीमा भने संगठनको मनोबल कमजोर नभएको उनको दाबी थियो । उनले भने, ‘प्रहरीले यस्ता धेरै आन्दोलन र तनाव भोगेको छ । तर, संगठनले मनोबल कहिल्यै गुमाएको छैन । हाम्रो प्राथमिकता भनेको कोशी प्रदेशलाई सुरक्षित बनाउनु हो ।’

विद्यार्थी बस्ने होस्टेलहरूको नियमनलाई पनि अपराध नियन्त्रणको महत्वपूर्ण माध्यमका रूपमा हेरिएको उनको भनाइ छ । विराटनगर शैक्षिक हब बन्दै गइरहँदा विद्यार्थी बसोबास गर्ने अनियन्त्रित होस्टेलहरूले अपराधिक घटनाको जोखिम बढाउने कारक बनेको प्रहरीको विश्लेषण छ । प्रहरीले होस्टलहरुको नियमित निरीक्षण, अभिलेखीकरण र कडाइका साथ अनुगमन गर्ने योजना बनाएको छ । ‘हामी घटनापछि मात्र पुग्ने होइन । घटना हुनै नदिन पूर्वसावधानी अपनाउनेतर्फ लागिरहेका छौँ,’ घिमिरेले भने ।

प्रहरीले अधिकांश समय बैंकिङ कसुरसँग सम्बन्धित घटनामा खर्चिनु परेका कारण नियमित कामकारबाहीमा केही समस्या देखिएको उनको भनाइ छ । जसका कारण अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा र समुदाय–समन्वय कार्यमा प्रभाव परेको उनले बताए ।

तराईका जिल्लाका हिरासतमा रहेका थुनुवामध्ये आधाभन्दा बढी लागुऔषधका हुने गरेको बताउँदै घिमिरेले तीमध्ये पनि अधिकांश २० देखि ३० वर्ष उमेर समूहका रहेको जानकारी दिए । ‘आधाभन्दा बढी थुनुवा लागुऔषधका छन् । तीमध्ये अधिकांश युवाहरु छन् । यो अत्यन्तै दुःखद् हो,’ उनी भन्छन् ।

लागुऔषध नियन्त्रणमा सामाजिक चेतना अनिवार्य रहेको डीआईजी घिमिरेको भनाइ छ । लागुऔषधका थुनुवा तथा प्रयोगकर्तालाई मनोवैज्ञानिक ‘काउन्सिलिङ’ दिएर लागुऔषध नियन्त्रणको दीर्घकालीन अभियान सुरु गर्ने घोषणा उनले गरेका छन् । परामर्श (काउन्सिलिङ’का लागि प्रशिक्षकसमेत उत्पादन गर्ने योजना रहेको उनले बताए ।

जेनजी आन्दोलनको आवरणमा गरिएका आगजनी र तोडफोडमा संलग्नलाई प्रमाणसहित कारबाहीको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको घिमिरेले स्पष्ट पारेका छन् । उनले अहिलेसम्म प्रहरीमा सूचना र जाहेरी थोरै आएको बताउँदै घटनासम्बन्धी सूचना एवं जाहेरी तत्काल दिन सबैमा आह्वान गरेका छन् । ‘कानुन र प्रक्रियाअनुसार चल्छौँ । दण्डहीनतालाई प्रश्रय दिन सकिँदैन,’ उनले भने ।

आगामी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विषय पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै डीआईजी घिमिरेले मतदानस्थलदेखि संवेदनशील क्षेत्रमा सुरक्षा तैनाथीलाई ध्यान दिइने बताए । जेनजी आन्दोलनमा भागेका फरार प्रतिवादी पक्राउ, चुनाव लक्षित सम्भावित जोखिमको पहिचान तथा लुटिएका हतियार फिर्ता गराउने प्रयास सबै तीव्र रूपमा भइरहेको जानकारी उनले दिए ।

विगतका चुनावमा राजनीतिक दल नै प्रमुख सुरक्षा चुनौती बन्ने गरेको उल्लेख गर्दै डीआईजी घिमिरेले निर्वाचनलाई शान्तिपूर्ण बनाउन सबै अनुशासित बनेर कानुनको पालनामा ध्यान दिनुपर्ने बताए । ‘अनुशासन सबैमा चाहिन्छ । चुनाव शान्तिपूर्ण बनाउन प्रहरी कडाइका साथ खटिन्छ । मेरो पहिलो प्राथमिकता नै शान्तिपूर्ण रुपमा आगामी निर्वाचन सम्पन्न गराउनु हो,’ उनले भने ।

नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करीलगायत सीमा अपराध नियन्त्रणमा प्रहरी प्रतिबद्ध रहेको उनले बताए । ‘अवैध सामान बोकेको सूचनाका आधारमा प्रहरीले सवारीसाधनलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय वा भन्सार कार्यालयमा बुझाउने गरेको छ । तर, त्यसको अनुसन्धान अघि बढाउँदा प्रहरीका प्रतिनिधि नै हुँदैनन् । अवैध सामान नियन्त्रणमा लिएर बुझाएपछि कारबाही के भयो तथा प्रक्रिया कहाँ पुगेर टुंगियो भन्ने कुरा सुरक्षा निकायलाई थाहै हुँदैन । तस्करी नियन्त्रण गर्न सबै निकायबीच समन्वय आवश्यक छ,’ डीआईजी घिमिरे भन्छन् ।

पक्राउ गरेर भन्सार वा राजस्व कार्यालयमा बुझाउने मात्र काम भइरहेकाले त्यसपछि हुने प्रक्रिया पारदर्शी नहुने सम्भावना रहेको संकेत उनले गरेका छन् । ‘सुरक्षाकर्मीलाई अवैध सामान वा त्यस्ता सामान बोकेका सवारीसाधन नियन्त्रणमा लिने भूमिकामा मात्रै सीमित गर्नु हुँदैन,’ उनले भने, ‘राजस्व प्रणालीमा निगरानी र पारदर्शिता आवश्यक छ ।’

धनकुटालगायत कोशी प्रदेशका पहाडी जिल्लामा हुने अवैध गाँजा खेतीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिने जानकारी उनले दिएका छन् । गैरकानुनी कामलाई कुनै हालतमा प्रश्रय दिन नसकिने उनको भनाइ छ । ‘अपराध नियन्त्रणका लागि सबै पक्ष र समुदायसँगको समन्वयलाई प्राथमिकतामा राखेर प्रहरीले काम गर्छ,’ उनले भने ।

डीआईजी घिमिरेले प्रविधिमैत्री अनुसन्धान, सीसीटीभी एकीकृत प्रणाली, डिजिटल प्रमाण सुरक्षित गर्ने प्रणाली लगायतका सुधारलाई प्राथमिकतामा राखिएको बताए । ‘कुनै पनि गैरकानुनी कामलाई स्वीकार गर्न सकिँदैन । प्रहरीले आफ्नो जिम्मेवारी अनुसार काम गर्छ,’ उनले भने ।

कार्यक्रममा कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेल, एसपीहरु सुमन तिम्सिना, नारायणप्रसाद चिमिरियालगायतका प्रहरी अधिकारीहरुको उपस्थिति थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.