
विराटनगर । नेकपा (एमाले)का प्रभावशाली युवा नेता पर्शुराम बस्नेतले पार्टीको आगामी ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने इच्छा व्यक्त गरेका छन् । उनलाई पार्टीभित्र आगामी केन्द्रीय सदस्यको बलियो दाबेदारका रूपमा हेरिएको छ ।
तीन दशकभन्दा लामो समयदेखि युवा आन्दोलन, संगठन निर्माण र पार्टीलाई स्थानीयदेखि केन्द्रीय तहसम्म बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका बस्नेत युवामाझ लोकप्रिय छन् । उनले पार्टीको केन्द्रीय सदस्यका लागि बलियो दाबेदारी प्रस्तुत गरेका छन् ।
विगतमा उनलाई विभिन्न विवादमा मुछ्ने प्रयास भएको थियो । तर, बस्नेत यसलाई पार्टीभित्र लिएको उचाइ र योगदानकै कारण आफूलाई निशाना बनाइएको बताउँछन् । हाल उनी एमालेभित्र उदाउँदै गरेको एक प्रभावशाली युवा शक्तिका रूपमा स्थापित छन् ।
विराटनगर, मोरङ र कोशी प्रदेशसहित मुलुकभरका एमाले युवामाझ लोकप्रिय बस्नेत राजनीतिक कठोरता, संगठन चलाउने क्षमता र कठिन परिस्थितिमा युवालाई एकताबद्ध गर्ने नेतृत्व कौशलका कारण चर्चित छन् । एमालेभित्र नेतृत्व विस्तारको बहस चलिरहेका बेला उनको नामलाई विशेष महत्त्वका साथ हेरिएको एमालेका युवा नेता मुकेश बुढाथोकीले बताए ।
संगठनात्मक यात्रा र प्रशासनिक दक्षता
१६ वर्षको उमेरमै एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट राजनीति सुरु गरेका बस्नेतले हालसम्म पार्टीको विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । युवा संघ नेपालको मोरङ उपसचिवदेखि उपाध्यक्ष, युथ फोर्स मोरङका प्रमुख, युवा संघ नेपालको केन्द्रीय सचिव, कोशी अञ्चल सहसंयोजक, उपाध्यक्ष, एमाले मोरङको सचिवालय सदस्यसम्मको जिम्मेवारी पूरा गरिसकेका छन् ।
हाल उनी एमालेको कोशी प्रदेश कमिटीका सचिवालय सदस्य, विराटनगर महानगर कमिटी इन्चार्ज तथा नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्ष हुन् । उनले बारम्बार एमालेको प्रदेश सचिवालय सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । युवा संघ नेपालको केन्द्रीय उपाध्यक्ष, नेपाल खेलकुद महासंघको वरिष्ठ उपाध्यक्ष हुँदै बस्नेत हाल महासंघको केन्द्रीय अध्यक्ष छन् ।
एमाले नेतृत्वको कोशी प्रदेश सरकारले उनलाई प्रदेश खेलकुद विकास बोर्डको संस्थापक सदस्यसचिव नियुक्त गरेको थियो । खेलकुद क्षेत्रलाई संस्थागत र व्यवस्थित गर्न उनले देखाएको सक्रियताले उनको प्रशासनिक दक्षता र कौशल झल्काउँछ ।
लामो राजनीतिक यात्रा र पार्टी निर्माणमा उनको सक्रिय भूमिकाले बस्नेतलाई स्वाभाविक र परिपक्व युवा नेतृत्वका रूपमा केन्द्रीय सदस्य दाबी गर्न सक्षम बनाएको छ । राजनीतिक यात्राका क्रममा कुशल संगठक भनेर चिनिएका बस्नेतले एमालेको केन्द्रीय सदस्यका लागि बालियो दाबेदारी प्रस्तुत गरेका छन् ।
केन्द्रीय सदस्यताको औचित्य, युवा पलायन रोक्न
बस्नेत आफूले केन्द्रीय सदस्यका लागि दाबी गर्नुको मुख्य कारण अहिलेको राष्ट्रिय परिवेश र युवामाझ देखिएको राजनीतिक दूरी रहेको बताउँछन् । ‘राजनीति नै समृद्धिको मार्ग हो । युवालाई राजनीतिबाट टाढा राख्न हुँदैन । राजनीतिबाट युवा पुस्ता पलायन हुने जोखिम रोक्न नेतृत्व अब जिम्मेवार बन्नुपर्छ,’ उनले भने ।
देशमा बढ्दै गएको निराशा, अराजकता र अनुशासनहीनताका बेला युवालाई राष्ट्र, राष्ट्रियता र स्वाधीनताको महत्त्व बुझाउँदै सही राजनीतिक दिशातिर उन्मुख गराउन सक्षम नेतृत्व अनिवार्य रहेको उनको भनाइ छ । तीन दशकदेखि युवालाई संगठित, अनुशासित र राष्ट्रवादमा उभ्याउने लक्ष्यका साथ सक्रिय उनी अब यही अनुभव केन्द्रीय नेतृत्वस्तरमा प्रयोग गर्न चाहन्छन् ।
ओली नेतृत्वप्रति निष्ठा र संकटकालमा पार्टीलाई टेवा
बस्नेत खुलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीका नीतिगत विचार, राष्ट्रवाद र राष्ट्रिय स्वाभिमानको समर्थनमा उभिने नेतामध्ये एक हुन् । ओलीका विश्वासपात्र युवा नेताका रूपमा परिचित बस्नेत अहिले पार्टीभित्र ओली नेतृत्वलाई मजबुत बनाउने अभियानमा सक्रिय छन् ।
युवा नेता बुढाथोकीका अनुसार पार्टी संकटमा परेर नेता कार्यकर्ता पलायन हुने अवस्था सिर्जना हुँदा बस्नेत संकटमोचक खम्बा भएर उभिएका थिए । युद्धरत अवस्थाबाट शान्ति प्रक्रियामा आएको माओवादीले वाईसीएल गठन गरेर ठाउँठाउँमा आतंक मच्चाउँदा बस्नेत नेतृत्वको युथ फोर्सले खुलेर प्रतिवाद गरेको थियो । मोरङमा वाईसीएलको आतंक रोक्न उनको समूह सफल भएको दाबी गरिन्छ ।
मधेश आन्दोलनको नाममा बढ्दो हिंसा र अराजकताका साथै विभिन्न समूहको चन्दा आतंक र आक्रमणविरुद्ध बस्नेतको समूह पिलरजस्तै बनेर उभिएको थियो । विराटनगरका उद्योगी, व्यापारीदेखि सर्वसाधारण नागरिकमाथि बढ्दो अत्याचारको प्रतिवाद गरेकोमा अहिले पनि उनको प्रशंसा हुने गरेको एमालेका नेता कार्यकर्ता बताउँछन् ।
बस्नेत आफ्नो भूमिकालाई ‘पार्टी एकता, युवा जागरण र राष्ट्रिय स्वाभिमानलाई अगाडि बढाउने अनिवार्य कडी’ का रूपमा प्रस्तुत गर्छन् । उनी भन्छन्, ‘केपी ओलीलाई अध्यक्ष स्थापित गर्न र देशलाई उठाउन युवा शक्तिको नेतृत्व आवश्यक छ । त्यसैले मेरो केन्द्रीय सदस्यको उम्मेदवारी अपरिहार्य बनेको हो ।’
मोरङका आकांक्षी र पार्टीभित्रको चासो
मोरङबाट केन्द्रीय सदस्यका लागि बस्नेतसहित विभिन्न नेताहरू आकांक्षी देखिएका छन् । मोरङ नेपाली राजनीतिको उर्वरभूमि मानिन्छ र यहाँबाट एमालेको केन्द्रीय कमिटीमा को–को पर्छन् भन्ने चासोको विषय बनेको छ ।
हालका केन्द्रीय सदस्यहरू जीवन घिमिरे, रामलाल साह, युवराज बास्कोटा, नैनकला ओझा, नरेन्द्रकुमार श्रेष्ठ र मोतीलाल दुगड छन् । घिमिरे, दुगड र श्रेष्ठ ओली समूहका हुन् भने बाँकी नेताहरु ईश्वर पोखरेल समूहमा छन् ।
पूर्वजिल्ला अध्यक्षहरू नरेश पोखरेल र ऋषिकेश पोखरेल, कोशी प्रदेशसभाका पूर्वसदस्य राजकुमार ओझा, वर्तमान प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, ज्ञानेन्द्र सुवेदी, रंगेली नगरपालिकाका मेयर दिलिपकुमार बगडियासहित मनोज अग्रवाल, सत्यनारायण चौधरी, बिमला घिमिरे, धनमाया तामाङलगायत केन्द्रीय सदस्य बन्ने लाइनमा छन् ।
पार्टीभित्र बस्नेतको संगठनात्मक अनुभव, युवा परिचालन गर्ने क्षमता, पार्टी संकटका बेलाको नेतृत्व कौशल र ओली नेतृत्वप्रति उनको निष्ठालाई अहिलेको आवश्यकताका रूपमा हेरिएको छ । उनका समर्थकहरूका अनुसार, ‘मोरङदेखि कोशी प्रदेशसम्म बस्नेत युवाको पहिलो रोजाइ हुन् । युवा शक्ति केन्द्रीकरण गर्न उनीभन्दा सक्षम नाम छैन ।’
























