
काठमाडौं । नेकपा (एमाले) को आगामी ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह आज मध्याह्न १२ बजेपछि भक्तपुरको सल्लाघारीमा सुरु हुने तयारी छ। औपचारिक समारोह सुरु हुनुअघि साँस्कृतिक कार्यक्रम र विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहितको जुलुस निकाल्ने तयारी गरिएको छ।
महाधिवेशनमा सहभागी हुन आएकाहरूलाई उद्घाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ। गेटमा तैनाथ प्रहरीहरूले मेटल डिटेक्टर उपकरणले जाँच गरेर मात्रै भित्र प्रवेश दिइरहेका छन्। उनीहरूले झोला र शरीर खानतलासी समेत गरेका छन्।
सुरक्षाका लागि विष्फोटक पदार्थ पत्ता लगाउने उपकरण र विशेष तालिमप्राप्त कुकुरसहितको टोली पनि परिचालन गरिएको छ। महाधिवेशनमा सहभागी हुन विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता गाडी रिजर्भ गरेर आएका छन्। गाडीमा चढेर आएकाहरूलाई गठ्ठाघर, सानोठिमी, जगाती लगायतका स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ।

























