विधिको होइन, अराजक शासन चलिरहेको छ: ज्ञवाली

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २७, शनिबार १४:१६

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा भदौ २४ गतेको विध्वंसपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको बताएका छन् । एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उपमहासचिव ज्ञवालीले जस्तोसुकै चुनौतीपूर्ण परिस्थिति आए पनि पार्टी निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

उनले भदौ २४ गतेको अवस्थालाई नेपालमाथि शक्तिशाली राष्ट्रले हमला गरेको जस्तो अवस्थासँग तुलना गरेका थिए। ज्ञवालीले भने, “हामीले चुनौतीपूर्ण अवस्थामा महाधिवेशन आयोजना गर्दैछौं। आजभन्दा ३ महिना अगाडि देशले कल्पना नगरेको विनाशकारी स्थिति सामना गर्‍यो।”

उपमहासचिव ज्ञवालीले नेपालले १८२६ को सुगौली सन्धिपछि युद्ध लड्नु नपरेको स्मरण गर्दै, भदौ २४ गते काठमाडौं लगायतका मुख्य सहरी केन्द्रको दृश्य नेपालमाथि कुनै शक्तिशाली देशले बम वर्षा गरिरहेको, विनाश गरेको जस्तो अकल्पनीय स्थिति सिर्जना भएको बताए।

उनले भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि जननिर्वाचित सरकार ढलेको र जनप्रतिनिधिको संस्था पनि विघटन गरिएको आरोप लगाए। “जननिर्वाचित सरकार ढल्यो। जनताका प्रतिनिधिको थलो प्रतिनिधिसभा विघटन भयो। विधिको शासनको ठाउँमा अराजक शासन आयो,” उनले भने।

अहिले शासनमा रहेकाहरूले अराजकताको शासन चलाइरहेको र उनीहरूका विरुद्धमा वा आलोचनामा बोल्दा पनि खबरदारी आइरहेको ज्ञवालीको भनाइ छ। पुराना पार्टी र नेता तथा एमाले समाप्त भयो भन्ने भाष्य बनाइएको भन्दै उनले असन्तुष्टि जनाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.