
काठमाडौँ । नेपाल जेन-जी फ्रन्टले देशभर ‘जागरण सभा’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। यो अभियान सरकार र जेन-जी जनआन्दोलनकारीबीच भएको औपचारिक सम्झौताको पृष्ठभूमिमा घोषणा गरिएको हो। अभियानअन्तर्गत पहिलो जागरण सभा आज (आइतबार) झापा क्षेत्रनम्बर ५ को दमकबाट सुरु हुनेछ। झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्दै आएको क्षेत्र पनि हो।
नेपाल जेन-जी फ्रन्टका प्रदेश समन्वय समितिका सदस्य आदित्य कर्णका अनुसार, यस जागरण सभाको मुख्य उद्देश्य जेन-जी आन्दोलनका माग र मर्मलाई देशव्यापी रूपमा विस्तार गर्ने, नागरिकसँग संवाद गर्ने, र सम्झौतापछि हुने कार्यान्वयनमा जनस्तरको निगरानी सुनिश्चित गर्ने रहेको छ।
कार्यक्रममा स्थानीय रूपमा आन्दोलनमा सक्रिय अगुवा, नागरिक समाजका प्रतिनिधि, साथै राष्ट्रियस्तरमा जेन-जी आन्दोलनको नेतृत्व गरेका युवाहरूले सम्बोधन गर्नेछन्। नेपाल जेन-जी फ्रन्टकातर्फबाट संयोजक रक्षा बम, सदस्य यतिष ओझा र काउन्सिल अफ जेनजीका प्रदेश नं. १ संयोजक उपार्जुन चाम्लिङ लगायत वक्ताका रूपमा रहनेछन्। सदस्य ओझा झापा क्षेत्र नं. ५ कै स्थायी बासिन्दा र मतदाता हुन्।
यो ‘जागरण सभा’ मार्फत जेन-जी फ्रन्टले युवा पुस्ताको सरोकार र आन्दोलनका उपलब्धिहरूलाई देशव्यापी रूपमा पुर्याउने लक्ष्य लिएको छ।

























