मोरङमा दुर्घटना, ३ जनाको मृत्यु

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २८, आइतबार १२:४१

विराटनगर । मोरङका अलगअलग स्थानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृतक सबै पुरुष हुन् ।

सुन्दरहरैँचा नगरपालिका–६ गैरीगाउँस्थित भित्री सडक खण्डमा लाइटिङ बोर्डिङ स्कुलबाट गछिया खोलातर्फ जाँदै गरेको को १ त ६४५८ नम्बरको ट्याक्टर आइतबार बिहानका राति आफैं अनियन्त्रित भएर दुर्घटना पर्दा सहचालकको मृत्यु भएको छ । बिहान ५ः४५ बजेतिर दुर्घटना हुँदा ट्याक्टरका सहचालक सुन्दरहरैँचा–६ का २६ वर्षीय अतीत राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए ।

उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः१५ बजेतिर मृत्यु भएको हो । ट्याक्टर चालक सुन्दरहरैँचा–६ का ४० वर्षीय प्रेमकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले शनिबार साँझ ७ः३५ बजेतिर पैदलयात्री ग्रामथान–२ का ५२ वर्षीय सुरेशकुमार सरदारलाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होम पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको इन्स्पेक्टर न्यौपानेले बताए । मोटरसाइकलको पछाडि सवार ग्रामथान–२ की १७ वर्षीया जिया तिगा घाइते भएकी छन् ।

मध्यम अवस्थाकी उनको विराट नर्सिङमै उपचार भइरहेको छ । मोटरसाइकल चालक ग्रामथान–२ का १८ वर्षीय इशान पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

यसैबीच, धनपालथान गाउँपालिका–४ मा मोटरसाइकलको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा दुई सातापछि मृत्यु भएको छ । सखरदिनाबाट कर्सियातर्फ जाँदै गरेको को २३ प ८४०६ नम्बरको मोटरसाइकलले गत मंसिर १२ गते साँझ ठक्कर दिँदा पैदलयात्री धनपालथान–३ सोराभागका ५२ वर्षीय शिवचरण माझी घाइते भएका थिए ।

उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचाररत माझीको आइतबार बिहान ३ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक धनपालथान–४ का ३१ वर्षीय धर्मेन्द्र परियारलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.