
विराटनगर । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वशिक्षामन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित उपाध्यायको काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको हो ।
मोरङ स्थायी घर भएका उपाध्याय पछिल्लो समय स्वास्थ्य उपचारका लागि काठमाडौंमा बस्दै आएका थिए । उपाध्याय तत्कालीन मोरङ क्षेत्र नम्बर १ (हाल क्षेत्र नम्बर २) बाट दुई पटक सांसद निर्वाचित भएका थिए । २०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला मोरङ र सुनसरीबाट विजयी भएका थिए । कोइरालाले मोरङको सिट छोडेपछि भएको उपनिर्वाचनमा उपाध्याय विजयी भए । गिरिजाकाे विश्वासपात्र भएका कारण शिक्षामन्त्रीको जिम्मेवारीसमेत प्राप्त गरे ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ जिल्लाबाट नेपाली कांग्रेसको साख जोगाउँदै चुनाव जित्ने उनी एक्ला नेता थिए । ९ वटा निर्वाचन क्षेत्रमा उनीमात्रै विजयी भएका थिए, दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए ।
कांग्रेस माेरङका नेता यदु विष्टका अनुसार दोस्रो संविधानसभा निर्वाचनपछि उपाध्यायकाे धर्मपत्नीको निधन भयाे । पत्नीकाे निधनपछि उनी सक्रिय राजनीतिबाट विस्तारै टाढिएका थिए ।
“मोरङमा कांग्रेसको कठिन समयमा (२०६४ साल) उहाँले मात्र चुनाव जित्नुभएको थियो,” विष्ट सम्झन्छन्, ‘उहाँ जनतासँग प्रत्यक्ष संवादमा विश्वास गर्ने शालिन र बौद्धिक नेता हुनुहुन्थ्यो ।”
उपाध्याय गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए । उनीसँग लामो समय संगत गरेका पत्रकार कुमोद अधिकारीका अनुसार उपाध्यायको स्मरण शक्ति निकै तेज थियो । “उहाँ एकपटक चिनजान भएको मानिसलाई कहिल्यै बिर्सनुहुन्नथ्यो र सबैलाई नामले नै सम्बोधन गर्नुहुन्थ्यो,” अधिकारी भन्छन्, “सादा जीवनशैलीका कारण उहाँ कार्यकर्तामाझ निकै लोकप्रिय हुनुहुन्थ्यो।”
राजनीतिशास्त्रमा स्नातक गरेका उपाध्यायका दुई छोरा र एक छोरी छन् ।

























