
विराटनगर । विराटनगरको रानीस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रले स्थापनाको ५९ वर्ष पूरा गरेको छ । तालिम केन्द्र आइतबारबाट ६० वर्षमा प्रवेश गरेको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेको प्रमुख आतिथ्यतामा आइतबार केन्द्रको ५९ औं वार्षिकोत्सव भव्य रूपमा मनाइएको छ । विक्रम संवत् २०२३ सालमा सुनसरीको धरानमा स्थापना गरिएको केन्द्रलाई २०३३ सालमा विराटनगरको रानी स्थानान्तरण गरिएको थियो ।
तालिम केन्द्रले करिब ६ दशकको यात्रामा नेपाल प्रहरी संगठनका लागि ८४ हजार २ सय ७ जनालाई विभिन्न प्रशिक्षण दिँदै दक्ष र व्यावसायिक प्रहरी जनशक्ति उत्पादन गरेको छ । तालिम केन्द्रले विभिन्न विधामा प्रहरी कर्मचारीलाई तालिम दिने गरेको छ । केन्द्रले प्रहरी जवानको आधारभूत र असई (प्रहरी सहायक निरीक्षक)को अल्पकालीन एवं प्रहरी जवानदेखि वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक)सम्मको सेवाकालीन तालिम सञ्चालन गर्दै आएको छ ।
तालिम केन्द्रले प्रहरी जवान उत्पादनका साथै जुनियर प्रहरी अधिकृतसम्मलाई आवश्यक प्रशिक्षण दिने गरेको छ । तालिम केन्द्रका प्रवक्ता तथा डीएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार हालसम्म विभिन्न पदका ८४ हजार २ सय ७ जनालाई प्रशिक्षण दिइसकिएको छ ।

नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न सक्ने दक्ष, व्यावसायिक र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु नै तालिम केन्द्रको उद्देश्य रहेको उनले बताए । तिम्सिनाका अनुसार आवश्यक जनशक्ति उत्पादनदेखि समयसापेक्ष नीति, निर्देशन र सुरक्षा चुनौतीअनुसार आधारभूत, उन्नत, अनुशिक्षण तथा घुम्ती प्रशिक्षण तालिमहरू केन्द्रले सञ्चालन गर्दै आएको छ ।
तालिम केन्द्रका प्रमुख एसएसपी गोविन्द अधिकारीले आधुनिक, व्यवहारिक र आवश्यकतामा आधारित प्रशिक्षण प्रणाली विकासमा जोड दिइएको बताए । ‘प्रहरी जनशक्ति उत्पादनको उद्गमस्थल तालिम केन्द्र हो,’ उनले भने, ‘केन्द्रबाट नेपाल प्रहरी प्रधान कार्यालयबाट जारी ‘नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७० (संशोधन सहित)’ बमोजिम तालिम सञ्चालन हुँदै आएको छ ।’
आधारभूतदेखि उन्नत तहसम्मका तालिम सञ्चालन गर्दै आएको केन्द्रले प्रहरी जवानदेखि वरिष्ठ नायव निरीक्षकसम्मलाई प्रशिक्षण दिइसकेको अधिकारीले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा स्वीकृत वार्षिक तालिम क्यालेन्डर अनुसार सञ्चालन गर्नुपर्ने २५ वटा तालिममध्ये हालसम्म ७ वटा तालिम सम्पन्न भइसकेका छन् । तालिममा जवानदेखि जुनियर अधिकृतसम्मका १ हजार ७ हजार ७८ जना प्रहरी कर्मचारीलाई प्रशिक्षण दिने लक्ष्य राखिएकोमा हालसम्म २ सय १८ जनाले प्रशिक्षण पूरा गरिसकेका छन् ।
तालिम केन्द्रमा हाल प्रहरी जवानका लागि प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा सञ्चालन भइरहेको छ । केन्द्रमा प्रशिक्षक, प्रदेश प्रहरी ब्याण्ड, प्रदेश प्रहरी फुटबल तथा भलिबल टोली र व्यवस्थापकीय जिम्मेवारीमा रहेका गरी कुल २ सय १३ जना प्रहरी कर्मचारी कार्यरत छन् । आधारभूत दुई समूह र सेवाकालीनका दुई समूह गरी ४ सय ७३ जना प्रशिक्षार्थी प्रशिक्षणरत रहेको एसएसपी अधिकारीले बताए ।

उनका अनुसार प्रहरी सेवामा प्रवेश गर्ने नयाँ युवायुवतीलाई अनुशासन, कर्तव्यनिष्ठ, व्यावसायिक र सेवाभावमा ढाल्न तालिम केन्द्रको भूमिका निर्णायक हुन्छ । प्रदेश प्रहरी तालिम केन्द्रलाई प्रदेशस्तरीय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा स्तरोन्नति गर्ने लक्ष्यसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा प्राप्त ५० बिघा जग्गामा पूर्वाधार विकास तीव्र रूपमा अघि बढाइएको जानकारी अधिकारीले दिए ।
हाल दुईवटा भवन निर्माण सम्पन्न भइसकेका छन् । कोशी प्रदेश सरकारको बजेटबाट १ हजार २ सय मिटर ग्याबियन तारबार निर्माण सम्पन्न भइसकेको छ । नेपाल सरकारको बजेटबाट थप कार्यालय भवन र प्रशिक्षार्थी ब्यारेक गरी दुईवटा भवन तथा संयुक्त राष्ट्रसंघीय परियोजनाबाट महिला ब्यारेक र आन्तरिक प्रशिक्षणालयका दुईवटा भवन निर्माण भइरहेको छ ।

५९ औँ वार्षिकोत्सवको अवसरमा तालिम केन्द्रले स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै विभिन्न प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम आयोजना गरेको थियो । ब्याडमिन्टन, टेबल टेनिस, फुटबल, रस्साकस्सी, पिलो फाइट तथा महिला–पुरुषका लागि ५ किलोमिटर, ४ सय मिटर र १ सय मिटर दौडजस्ता प्रतियोगिताहरू सञ्चालन गरिएका थिए ।
एथलेटिक्सतर्फ ५ किलोमिटर दौडमा प्रशिक्षार्थी प्रहरी जवान जय राई प्रथम, प्रशिक्षार्थी प्रहरी जवान राजेश दर्जी द्वितीय र प्रहरी जवान रमेश जोङवाङ तृतीय भए । ४ सय मिटर दौडमा पुरुषतर्फ प्रहरी जवान पञ्चलाल नुनिया प्रथम र प्रशिक्षार्थी प्रहरी जवान मिलन राजवंशी द्वितीय भए भने महिलातर्फ प्रशिक्षार्थी प्रहरी जवान सविना कार्की प्रथम र चिना राई द्वितीय भइन् । १ सय मिटर दौडमा पुरुषतर्फ प्रहरी जवान पञ्चलाल नुनिया प्रथम र प्रशिक्षार्थी प्रहरी जवान रविन राजवंशी द्वितीय भए भने महिलातर्फ प्रशिक्षार्थी प्रहरी जवान सविना कार्की प्रथम र देविका तामाङ द्वितीय भइन् ।
ब्याडमिन्टन डबल्सतर्फ इन्स्पेक्टर दीपक खरेल र प्रहरी जवान सञ्जय राईको जोडी प्रथम तथा सहायक हवल्दार जितेन्द्र पासवान र प्रहरी जवान रोशन राईको जोडी द्वितीय भयो । टेबल टेनिस डबल्सतर्फ असई सूर्याबोस राई र पर्शुराम बस्नेतको टोली प्रथम तथा हवल्दार मानबहादुर राजवंशी र प्रहरी जवान किरण पोखरेलको जोडी द्वितीय भयो ।
टेबल टेनिस एकलतर्फ असई पर्शुराम बस्नेत प्रथम र असई देवीप्रसाद ढकाल द्वितीय भए । फुटबल र भलिबलतर्फ तालिम केन्द्रकै स्टाफ टोली विजेता बने । रस्साकस्सी पुरुषतर्फ तालिम केन्द्रकै स्टाफ (ख) टोली र महिलातर्फ प्रहरी जवान आधारभूत तालिम १४१ औँ समूहको सगरमाथा समूह विजेता भयो । पिलो फाइटतर्फ प्रहरी जवान पञ्चलाल नुनिया प्रथम र प्रशिक्षार्थी प्रहरी जवान प्रमिस दनुवार द्वितीय भए । विजेता खेलाडीलाई आइतबार पुरस्कार प्रदान गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा तालिम केन्द्रले नियमित रूपमा प्रकाशन गर्दै आएको ‘प्रहरी जवान स्मारिका’को अंक २३ पनि प्रकाशन गरिएको छ । साहित्यिक र व्यावसायिक लेख, तालिम गतिविधि र विविध क्रियाकलाप समेटिएको उक्त स्मारिकाको कार्यक्रमका प्रमुख अतिथि डीआईजी विनोद घिमिरेले विमोचन गरेका छन् ।

घिमिरेले वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै ६ दशकको यात्रामा तालिम केन्द्रले नेपाल प्रहरी संगठनका आधारस्तम्भ मानिने प्रहरी कर्मचारी उत्पादनमा खेलेको भूमिका अतुलनीय रहेको बताए । बदलिँदो सुरक्षा चुनौती, साइबर अपराध, सामाजिक अस्थिरता र निर्वाचनजस्ता संवेदनशील परिस्थितिमा सक्षम, अनुशासित र नागरिकमैत्री प्रहरी उत्पादनका लागि तालिम प्रणालीलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले आधारभूत तालिमलाई प्रहरी सेवाको ३० बर्से जगको रूपमा व्याख्या गरे ।
‘प्रहरी तालिम केन्द्र एक पाठशाला र विद्याको मन्दिर हो । जहाँ कार्यरत सबै प्रहरी कर्मचारी प्रशिक्षक र नमुना बन्नुपर्ने दायित्वमा छन् । नागरिकको मौलिक हक, मानवअधिकार संरक्षण, विधिको शासन र दण्डहीनताको अन्त्यजस्ता लक्ष्य हासिल गर्न प्रशिक्षण संस्कृतिको भूमिका निर्णायक हन्छ,’ उनले भने । डीआईजी घिमिरेका अनुसार ६० औँ वर्षमा प्रवेश गरेको तालिम केन्द्र अझ सुदृढ, आधुनिक र नागरिकमैत्री प्रहरी निर्माणको यात्रामा अघि बढिरहेको छ ।


























