
काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको प्रक्रिया चलिरहँदा अध्यक्षका प्रतिस्पर्धीहरू प्यानल निर्माणमा जुटेका छन्। तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल आफ्नो टिम बनाउन लागिपरेका हुन्।
अध्यक्ष ओलीको टिमबाट महासचिव पदमा शंकर पोखरेलले प्रतिस्पर्धा गर्ने लगभग निश्चित भएको छ। उनी अहिले पनि महासचिव हुन्। अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलको प्यानलबाट भने हाल उपाध्यक्ष रहेका सुरेन्द्र पाण्डेले महासचिवमा उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन्।
सोमबार बिहान पोखरेल समूहले आफ्नो टिमबाट पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो। एमालेको नेतृत्वसहितको नयाँ कमिटी चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी रहेको छ।
























