
काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको छ। महाधिवेशनको सरगर्मी बढिरहँदा अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन तयारी गरिरहेका छन्।
ओलीको टीमबाट पदाधिकारीमा उठ्ने नेताहरूको मोटामोटी खाका तयार भएको एक नेताले बताएका छन्। जसअनुसार ओली समूहबाट महासचिवमा शंकर पोखरेललाई नै पुनः अघि सार्ने तयारी गरिएको छ। पोखरेललाई महासचिवको उम्मेदवार बनाउने गरी ओली निवास गुण्डुमा मोटामोटी समझदारी बनेको ती नेताको भनाइ छ।
यसैगरी, उपाध्यक्ष पदमा रामबहादुर थापा ‘बादल’, विष्णु पौडेल, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली उम्मेदवार बन्ने तय भएको छ। त्यस्तै, उपमहासचिव पदमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकाल उम्मेदवार बन्नेगरी आन्तरिक सहमति बनेको छ। नेता ज्ञवालीले भने केही पदमा सहमति भए पनि सबै पदमा औपचारिक रुपमा टुङ्ग्याउन बाँकी रहेको बताएका छन्। उनले समेत आफूले महासचिव पाउनुपर्ने दाबी गर्दै आएको बताइएको छ।
























