
काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ। अहिले उम्मेदवारको मनोनयन फारम वितरण गर्ने काम भइरहेको छ।
महाधिवेशन प्रचार कमिटी सदस्य चेतन अधिकारीका अनुसार हालसम्म १४ सयभन्दा बढी फारम वितरण भइसकेको छ। फारम वितरणको समय १२ बजेसम्म तोकिएको छ भने उम्मेदवारहरुको दर्खास्त फारम दर्ता गर्ने समय दिउँसो साढे १ बजेसम्म निर्धारण गरिएको छ।
चुनावी कार्यतालिका अनुसार उम्मेदवारहरूको प्रारम्भिक नामावली आज दिउँसो साढे २ बजे सार्वजनिक गरिने छ। त्यसपछि प्रारम्भिक नामावली उपर उजुरी दिने समय दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म तोकिएको छ। उजुरीमाथि जाँचबुझ लगायतका प्रक्रिया पूरा गरेपछि आज साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
नयाँ कार्यसमिति चयनका लागि पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने गरी कार्यतालिका तयार पारिएको छ।
























