पूर्वकेन्द्रीय सदस्य उपाध्यायको निधनमा कांग्रेसले भोलि कार्यालय बन्द गर्ने

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २९, सोमबार १२:१४

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा भोलि पुस १ गते पार्टीका केन्द्रदेखि वडा कार्यालयसम्म बन्द गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्यसमितिको सोमबार बिहान उपसभापति धनराज गुरुङको सभापतित्वमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।

बैठकले मङ्सिर २९, पुस १ र २ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ। यसका साथै, उपाध्यायको स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औँ दिनमा उनको गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरिएको छ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं नेता आमोदप्रसाद उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा मङ्सिर २७ गते शनिबार ९१ वर्षको उमेरमा निधन भएको थियो। कार्यसमिति बैठकले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

स्वर्गीय उपाध्याय २०४८ सालमा राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए भने २०५६ मा मोरङ निर्वाचन १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनले २०५६ मा शिक्षा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन पश्चात् पुनर्स्थापित व्यवस्थापिका संसद्को सदस्य रहेका उपाध्याय २०६४ को संविधान सभा सदस्य निर्वाचनमा समेत मोरङ निर्वाचन १ बाट निर्वाचित भएका थिए। उनी २०६९ मा पार्टीको केन्द्रीय अनुशासन समितिको संयोजक भएर पनि काम गरेका थिए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.