ओली पक्षका पदाधिकारी : अधिकांश पुरानै

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २९, सोमबार १२:४७

काठमाडौँ । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको चुनावी प्रक्रिया सुरु भएसँगै अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षबाट पदाधिकारीको नाम ‘फाइनल’ गरेका छन्। ओलीले यस महाधिवेशनमा अध्यक्ष र महासचिवसहित अधिकांश पदाधिकारीमा अनुभवी नेताहरूको टिमलाई निरन्तरता दिँदै केहीलाई भने बढुवा दिएका छन् ।

ओली पक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ। दसौँ महाधिवेशनबाट पनि यी दुई नेता क्रमशः अध्यक्ष र महासचिवमा चयन भएका थिए। ओलीले पार्टीको दुई मुख्य पदमा पुरानै नामलाई निरन्तरता दिएका हुन्।

ओली पक्षले उपाध्यक्ष पदका लागि रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई अघि सारेको छ। दसौँ महाधिवेशनमा उपाध्यक्ष बनेका युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले यस पटक उम्मेदवारी नदिने घोषणा गरेका छन्। सुरेन्द्रप्रसाद पाण्डेले भने ओली इतर पक्षबाट महासचिव पदमा उम्मेदवारी दिने भएका छन्। बाँकी रहेका थापा, पौडेल र बराललाई ओलीले फेरि उपाध्यक्ष पदमै निरन्तरता दिएका छन्।

प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई भने उपमहासचिवबाट एक तह माथिको पद अर्थात् उपाध्यक्षमा उम्मेदवार बनाइएको हो। ओली पक्षले उपमहासचिवमा भानुभक्त ढकाल, विष्णु रिमाल र रघुवीर महासेठलाई अघि सारेको छ।साबिकका उपमहासचिवद्वय ज्ञवाली र गुरुङ उपाध्यक्षमा गएपछि रिमाललाई साबिककै पदमा दोहोरिने मौका दिइएको छ।

साबिकका सचिव रघुवीर महासेठलाई भने उपमहासचिव पदमा उम्मेदवार बनाइएको छ। यस्तै, ओली पक्षबाट सचिवमा नौ जनाको लामो टिम अघि सारिएको छ। सचिवका उम्मेदवारहरूमा लेखराज भट्ट, छविलाल विश्वकर्मा, पद्मा अर्याल, यामलाल कँडेल, राजन भट्टराई, हिक्मत कार्की, महेश बस्नेत, शेरधन राई र खगराज अधिकारी छन्। यीमध्ये भट्ट, विश्वकर्मा र अर्याल दसौँ महाधिवेशनबाट सोही पदमा निर्वाचित भएका थिए। बाँकी कँडेल, कार्की, भट्टराई, बस्नेत र राई पहिलो पटक पदाधिकारीमा उम्मेदवार बन्न लागेका हुन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.