
काठमाडौँ । नेकपा (एमाले) को नयाँ नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ। भृकुटीमण्डपस्थित बन्दसत्र हलमा विद्युतीय मेसिनमार्फत हुने मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ।
यसअघि दिउँसो १ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि प्राविधिक तयारीका कारण कार्यतालिका केही समय पछाडि सरेको रामलक्ष्मण भोटिङ मेसिनका प्राविधिक नवराज पाण्डेले जानकारी दिए। उनका अनुसार मतदानस्थलमा ८० वटा भोटिङ मेसिन राखिएको छ। उम्मेदवारहरूको संख्या धेरै भएकाले एक जना प्रतिनिधिलाई मतदान प्रक्रिया पूरा गर्न औसतमा ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ।
महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यसहित कुल ३५१ जनाको नेतृत्वका लागि करिब ७ सय बढी उम्मेदवार चुनावी मैदानमा छन्। मेसिनमा उम्मेदवारको नाम र फोटो आउने तर छुट्टाछुट्टै प्यानल नदेखिने भएकाले प्रतिनिधिहरूले आफ्ना उम्मेदवार छानेर मत दिन केही समय लाग्ने प्राविधिक पाण्डेले बताए। उनले साक्षर र उम्मेदवार चिन्ने प्रतिनिधिले २० मिनेटमा सके पनि अन्यलाई ४५ मिनेटसम्म लाग्न सक्ने उल्लेख गरे।
निर्वाचनमा देशभरका २ हजार २६३ जना प्रतिनिधिले मतदान गर्दैछन्। एक पटकमा ८० जनाले मतदान गर्न सक्ने र प्रक्रिया लामो हुने भएकाले मतदान सम्पन्न हुन मात्रै २० देखि २४ घण्टा लाग्ने देखिएको छ। आज रातभर मतदान जारी रहने र कुनै अवरोध नभए बुधबार बिहानसम्म मतदान सकिने अनुमान छ।
विद्युतीय मेसिन प्रयोग गरिएकाले मतगणना छिटो हुने भए पनि सबै मेसिनहरू ‘नेटवर्किङ’ मा नरहेकाले प्रत्येक मेसिनको नतिजा छुट्टाछुट्टै संकलन गर्नुपर्ने हुन्छ। सबै मेसिनको मत जोडेर अन्तिम परिणाम सार्वजनिक गर्न थप डेढदेखि तीन घण्टा लाग्ने प्राविधिक टोलीले जनाएको छ। यस हिसाबले बुधबार दिउँसोसम्म एमालेको नयाँ नेतृत्वको अन्तिम नतिजा सार्वजनिक हुने सम्भावना छ।
























