तत्काल मतदान सुरु गर्न पोखरेल समूहको माग, ‘चलखेल’ भएको आरोप

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस १, मंगलबार १४:०५

काठमाडौँ । नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा मतदान प्रक्रियामा भइरहेको ढिलाइप्रति ईश्वर पोखरेल समूहले कडा आपत्ति जनाएको छ। मंगलबार दिउँसो १ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदै ढिलाइ भएपछि पोखरेल समूहले तत्काल निर्वाचन सुरु गर्न माग गरेको हो।

नेत्री अष्टलक्ष्मी शाक्यले आफूहरूले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेरै यसबारे ध्यानाकर्षण गराएको जानकारी दिइन्। मतदान समयमै सुरु नहुनुमा उनले चिन्ता व्यक्त गरेकी छन्।

यसैबीच, वरिष्ठ उपाध्यक्षका उम्मेदवार ईश्वर पोखरेलले मतदानमा भइरहेको ढिलाइलाई लिएर अध्यक्ष केपी शर्मा ओली पक्षमाथि गम्भीर आरोप लगाएका छन्। ढिलाइको नाममा ओली पक्षबाट ‘चलखेल’ भइरहेको उनको दाबी छ। कार्यतालिका अनुसार मतदान सुरु हुन नसकिरहेका बेला पोखरेल पक्षले निर्वाचन समितिमाथि दबाब बढाएको हो।

निर्वाचन समितिले भने प्राविधिक तयारी र मेसिनहरू मिलाउन समय लागेको बताउँदै आएको छ। तर पोखरेल समूहले यसलाई नेतृत्वको नियतसँग जोडेर हेरेपछि महाधिवेशन स्थल भृकुटीमण्डपमा चुनावी सरगर्मी र तनाव थप बढेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.