
काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि र अनुशासन कारबाहीका विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन्। केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई साथमा लिएर देउवा निवास पुगेका कोइरालाले पार्टीभित्र उत्पन्न पछिल्ला जटिलताका बारेमा छलफल गरेका हुन्।
भेटका क्रममा नेता कोइरालाले क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रमसंख्या (नम्बर) उल्लेख नभएका फारमहरू जिल्ला–जिल्लामा पठाएको घटनाप्रति आपत्ति जनाए। यस्तो लापरवाहीले देशभर पार्टीभित्र जटिल समस्या सिर्जना गरेको उल्लेख गर्दै उनले बिना नम्बरका ती फारमहरू तत्काल फिर्ता गर्न र नयाँ फारम पठाउन निर्देशन दिन सभापति देउवालाई आग्रह गरे। बिना नम्बरका फारमका आधारमा महाधिवेशनको प्रक्रिया कुनै पनि हालतमा अगाडि बढ्न नसक्ने तर्क कोइरालाले राखेका छन्।
यसैगरी, नेता कोइरालाले केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा गर्नुपर्ने माग पनि सभापति सामु राखे। उनले सबै नेता तथा कार्यकर्ताको कारबाही फुकुवा गरी उनीहरूलाई आगामी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा व्यक्त गरे। विशेष गरी २०७९ सालको निर्वाचनमा गठबन्धन गर्ने विषयलाई लिएर भएका विवादका आधारमा अहिले कारबाही गर्नु न्यायोचित नहुने कोइरालाको भनाइ थियो। पार्टीलाई एकताबद्ध बनाएर लैजान ती पुराना मुद्दाहरूलाई थाती राख्दै कारबाही फुकुवाको निर्णय लिन उनले सभापतिलाई सुझाव दिए।
























