रवि लामिछानेको राहदानी विवाद: आज सर्वोच्चमा सुनुवाइ

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २, बुधबार १०:५१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै युवराज पौडेल (सफल) ले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको हो।

२०७९ चैत ६ गते महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेको थियो। प्रहरी र सरकारी वकिलको कार्यालयको प्रतिवेदनका आधारमा गरिएको उक्त निर्णय ‘कानुनविपरीत र दुराग्रहपूर्ण’ रहेको दाबी गर्दै पौडेलले सर्वोच्चमा चुनौती दिएका थिए।

अमेरिकी नागरिक कायम रहँदै नेपाली राहदानी लिनु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कसुर भएको रिटमा जिकिर गरिएको छ। लामिछानेको ‘अपराधिक मनसाय’ नरहेको भनी महान्यायाधिवक्ताले आफ्नो क्षेत्राधिकार बाहिर गएर व्याख्या गरेको निवेदकको दाबी छ। लामिछानेले सो राहदानी कुन-कुन समयमा र के प्रयोजनका लागि प्रयोग गरे भन्ने विवरण अध्यागमन विभागबाट मगाउन माग गरिएको छ।

मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछानेलाई नेपाली नागरिकका रूपमा राजनीतिक अधिकार प्रयोग गर्न नदिन निर्वाचन आयोग लगायतका विपक्षीका नाममा अन्तरिम आदेश जारी गर्न समेत माग गरिएको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता लिने प्रक्रियामा रहेको समयमा पुरानै नागरिकताका आधारमा नेपाली राहदानी लिएको विषय नै यो विवादको केन्द्रमा छ। आज हुने सुनुवाइले यो मुद्दा अगाडि बढ्ने वा नबढ्ने भन्नेबारे महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.