
इलाम । प्राकृतिक प्रकोपबाट क्षतविक्षत बनेको सडक सञ्जाल र भौतिक पूर्वाधार पुनर्निर्माणमा सरकारले उदासीनता देखाएको भन्दै ‘सचेत इलामेली नागरिक’ ले आन्दोलनको घोषणा गरेको छ । २०८२ असोज १८ र १९ गतेको बाढीपहिरोपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि हालसम्म पुनर्निर्माणका काम सुरु नभएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका हुन् ।
स्थानीय अगुवाहरुले जारी गरेको विज्ञप्तिमा बाढीपहिरोले सडक सञ्जाल छिन्नभिन्न हुँदा इलाम, पाँचथर र ताप्लेजुङको जनजीवन कष्टकर बनेको उल्लेख छ । सडक अवरुद्ध हुँदा पर्यटन, व्यापार र कृषिजन्य उद्योगहरू शून्य प्रायः भएको र आर्थिक गतिविधि ठप्प भएको जनाइएको छ ।
राजनीतिक दल र उद्योग वाणिज्य संघले पटकपटक ध्यानाकर्षण गराउँदा समेत सरकार मौन बसेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको संयोजक ईश्वर चिपालुद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । सचेत नागरिक समूहले पहिलो चरणका संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ । आज एक घण्टा मेची राजमार्ग सांकेतिक रूपमा बन्द गरिने भएको छ ।
दिउँसो १२:३० देखि १:३० बजेसम्म सडक डिभिजन कार्यालय, इलाम घेराउ र तालाबन्दी गरिने भएको छ । यसैगरी, दिउँसो २:०० देखि ३:०० बजेसम्म जिल्ला प्रशासन कार्यालय, इलाम घेराउ गरी ध्यानाकर्षण पत्र बुझाइने जनाइएको छ।
आन्दोलनकारीले आफ्ना माग पूरा नभए सरकारले घोषणा गरेको निर्वाचन कार्यक्रम समेत बहिस्कार गर्ने चेतावनी दिएका छन् । दोस्रो चरणको आन्दोलन अन्तर्गत जिल्ला निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने र माग सम्बोधन नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने उनीहरूको अडान छ ।
मेची राजमार्ग र वैकल्पिक सडकहरूको पुनर्निर्माणका लागि ३ दिनभित्र ठोस कदम नचाले आम हड्तालसहितका कडा आन्दोलनमा उत्रिने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ ।

























