
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतले आजका लागि पेसी तोके पनि अन्तिम समयमा आएर सुनुवाइ रोकिएको हो ।
युवराज पौडेल (सफल) ले लामिछाने विरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै दुई वर्षअघि यो रिट दायर गरेका थिए । महान्यायाधिवक्ता कार्यालयले लामिछाने विरुद्ध मुद्दा नचलाउने भनी गरेको निर्णय कानुन विपरीत रहेको उनको दाबी छ ।
२०७९ चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछाने विरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको थियो । त्यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले पनि सोही प्रकृतिको निर्णय गरेका थिए ।
निवेदक पौडेलका अनुसार अमेरिकी नागरिक रहँदाकै अवस्थामा नेपाली राहदानी प्राप्त गर्नु ‘राहदानी ऐन, २०२४’ को दफा ५ (ख) विपरीतको कसुर हो। महान्यायाधिवक्ताले लामिछानेको ‘आपराधिक मनसाय’ नरहेको भनी आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर निष्कर्ष निकालेको र उक्त निर्णय दुराग्रहपूर्ण रहेको रिटमा उल्लेख छ।

























