सुप्रिम सहकारी ठगी प्रकरण: आज उच्च अदालतमा पेसी

Share this
778shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार ०९:३८

बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ ।

जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरका अनुसार आजका लागि पेसी चढेको र बहसको तयारी भएको छ ।यसअघि यो मुद्दा पटक–पटक सर्दै आएको थियो । गत हप्ता यो मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो भने त्यसअघि दुई पटक रवि पक्षकै कानुनी व्यवसायीहरूले निवेदन दिएर बहस स्थगित गराएका थिए ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछाने हाल पुर्पक्षका लागि थुनामा छन् । उनले सहकारीमा अपचलन भएको भनिएको आफ्नो भागको बिगो रकम बुझाउन तयार हुँदा पनि जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते उनलाई थुनामै राखेर अनुसन्धान अगाडि बढाउने आदेश दिएको थियो ।

जिल्ला अदालतको उक्त आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.