
काठमाडौँ । नेकपा (एमाले) को अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६ सय ६२ मत पाएका हुन् । उनी पार्टी अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका हुन् ।
मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । निर्वाचनमा २२२७ मत खसेको थियो।
नवौं र दशौं महाधिवेशनबाट पनि ओली नै अध्यक्षमा निर्वाचित भएका थिए । २०७१ असारमा भृकुटीमण्डपमै भएको नवौँ महाधिवेशनमा ओलीले अध्यक्ष पदमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले पराजित गरेका थिए । त्यतिबेला ओली १ हजार ४७ मत प्राप्त गरी विजयी भएका थिए भने नेपालले १ हजार ३ मत पाएका थिए ।
२०७८ भदौमा एमाले विभाजन भएपछि चितवनको सौराहामा भएको १०औँ महाधिवेशनमा ओलीले सर्वसम्मत अध्यक्ष बन्न चाहेका थिए । पूर्वउपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएपछि मतदान प्रक्रिया अपनाइएको थियो । त्यस बेला ओली १ हजार ८३७ मत ल्याएर विजयी बनेका थिए । रावलले २२३ मत प्राप्त गरेका थिए ।
‘मार्क्सवादी अध्ययन दल’ देखि पार्टी नेतृत्वसम्म
२०२३ सालमा ‘मार्क्सवादी अध्ययन दल’ मा संगठित भई प्रशिक्षण प्राप्त ओली २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध हुँदै नेतृत्व गर्न सफल भए । २०२६ सालमा नेकपाको सदस्यता पाएपछि उनले पार्टीको उपसचिवको जिम्मेवारी बहन गरे ।
२०२७ वैशाखमा तत्कालीन नेकपा र पूर्वकोशी प्रान्तीय कमिटीसँग एकीकरण भएको थियो । २०२८ वैशाखमा तत्कालीन पूर्वकोशी प्रान्तीय कमिटीबाट नेपाल कम्युनिस्ट पार्टी अलग भएको थियो । २०२९ सालमा तत्कालीन नेकपा झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा ओलीले जिम्मेवारी बहन गरे । ओली चर्चित झापा विद्रोहका प्रमुख नेतामध्ये एक थिए । १७ वर्षको उमेरमा वामपन्थी आन्दोलनमा सहभागी भएका ओली २२ वर्ष पूरा नहुँदै १४ वर्षे जेल जीवन बिताउन बाध्य भए ।
तत्कालीन शासन सत्ताको विरोधमा उत्रिएका उनी पहिलो पटक २०२७ फागुन १६ गते आइतबार झापाबाट गिरफ्तार भए । पहिलो गिरफ्तारमा झापा पुलिस थानामा बसेका उनी २०२७ र २०३० का बीचमा पटक–पटक गरी १० पटकभन्दा बढी गिरफ्तार भएका थिए । खुला राजनीतिमा आएपछि ओली २०४७ जेठ १ गते तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष भए । उनी २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा एमाले स्थायी कमिटी सदस्य भए ।
जेलबाट रिहा भएपछि ओलीले निरन्तर पार्टीको राजनीतिक जिम्मेवारी निर्वाह गर्दै आएका छन् । २०४४ पुस २ गतेदेखि धादिङको स्यादुलमा बसेको तत्कालीन नेकपा (माले) को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी हुँदै २०४६ मा तत्कालीन नेकपा (माले) लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी बहन गर्न पुगेका उनले २०४६ सालमा सम्पन्न जनआन्दोलनमा संयुक्त बाममोर्चाका तर्फबाट साविक लुम्बिनी अञ्चलको मोर्चा सम्हालेका थिए ।
























