
विराटनगर । नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारीहरूमा प्रदेशगत प्रतिनिधित्वको अवस्था निकै रोचक देखिएको छ । निर्वाचनको अन्तिम परिणाम अनुसार कोशी प्रदेशले अध्यक्षसहित ५ जना पदाधिकारी जितेर पार्टी नेतृत्वमा आफ्नो बलियो वर्चस्व कायम गरेको छ ।
कोशी प्रदेशबाट अध्यक्षमा केपी शर्मा ओली, उपमहासचिवमा योगेश भट्टराई र सचिवमा शेरधन राई, हिक्मतकुमार कार्की तथा भानुभक्त ढकाल निर्वाचित भएका छन् । एउटै प्रदेशबाट ५ जना शीर्ष नेतृत्वमा पुग्नुले एमालेभित्र कोशी प्रदेशको राजनीतिक प्रभाव निकै मजबुत रहेको पुष्टि गर्दछ ।
बाग्मती र लुम्बिनी प्रदेशबाट ४–४ जना पदाधिकारी निर्वाचित भएका छन् । बाग्मतीबाट उपाध्यक्षद्वय रामबहादुर थापा ‘बादल’ र रघुजी पन्त तथा सचिवद्वय महेश बस्नेत र राजन भट्टराई चुनिएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशबाट उपाध्यक्षद्वय विष्णुप्रसाद पौडेल र गोकर्णराज विष्ट, महासचिवमा शंकर पोखरेल र सचिवमा छविलाल विश्वकर्मा निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशबाट ३ जना पदाधिकारीले नेतृत्वमा स्थान बनाएका छन् । यस प्रदेशबाट पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षमा चुनिएका छन् भने पद्माकुमारी अर्याल र खगराज अधिकारी सचिव पदमा निर्वाचित भएका छन् ।
मधेस प्रदेशबाट रघुवीर महासेठ र सुदूरपश्चिमबाट लेखराज भट्ट उपमहासचिवमा निर्वाचित भएका छन् । कर्णाली प्रदेशबाट भने यामलाल कँडेल सचिव पदमा निर्वाचित भई आफ्नो प्रदेशको प्रतिनिधित्व गराएका छन् ।
























