एमाले नेता गुरु बराल सधैँ ‘अभागी’

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ३, बिहीबार १६:३०

विराटनगर । नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदका उम्मेदवार गुरु बराल पराजित भएका छन् । सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त पदमा २०८१ साउन १७ गते उपाध्यक्ष मनोनीत भएका बराल महाधिवेशनबाट निर्वाचित भएर सोही पदमा कायम रहन चाहन्थे । तर, पार्टीभित्रको संस्थापन (केपी शर्मा ओली) समूहको बलियो साथ हुँदाहुँदै पनि उनी पराजित भए ।

बरालका लागि यो पराजय नौलो होइन । संसदीय राजनीतिदेखि पार्टीको आन्तरिक प्रतिस्पर्धासम्म, निर्वाचन भन्नेबित्तिकै बरालको भाग्यले साथ छोड्ने गरेको देखिन्छ । पाँचौं महाधिवेशनदेखि निरन्तर केन्द्रीय राजनीतिमा रहेका उनी यसपटक पहिलो पटक पदाधिकारीमा चुनाव लडेका थिए, तर नतिजा निराशाजनक रह्यो  ।

एमालेको पाँचौं महाधिवेशनबाट पहिलो पटक केन्द्रीय सदस्य बनेका थिए । छैठौं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य बनेका थिए । जनकपुरमा २०५९ माघ १८–२२ सम्म सम्पन्न सातौं महाधिवेशनमा भने बराल सुनसरीका एमाले नेता भीम आचार्यसँग पराजित भए । पछि उनी केन्द्रीय कमिटीमा ओली पक्षका तर्फबाट मनोनित भए । आठौं महाधिवेशनमा उनले जिते । नवौं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य जितेर पोलिटब्युरो सदस्य बने । दसौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै स्थायी कमिटी सदस्यमा चुनिए ।

तर संसदीय निर्वाचनमा उनका लागि विर्सन लायक छ । बरालको ‘दुर्भाग्य’ कतिसम्म छ भने, उनी मतपत्रमा मात्र होइन, गोलाप्रथामा पनि चुक्छन् । २०७८ माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा उनी र विपक्षी उम्मेदवारको मत बराबर भएको थियो । अन्त्यमा गोला तान्दा झापाका गोपाल बस्नेत निर्वाचित भए भने बराल पराजित भए ।

‘गुरु दाइलाई चुनाव नै फाप्दैन। जित्ने निश्चित मानिएको राष्ट्रियसभामा गोलाले हरायो, अहिले उपाध्यक्षमा प्यानलले हरायो,’निकटस्थहरू भन्छन् ।

पार्टीभित्र ‘वैचारिक नेता’ को छवि बनाएका ६८ वर्षीय बराल २०३० सालदेखि राजनीतिमा सक्रिय छन् ।

२०४६ को जनआन्दोलन ताका उनी एमाले मोरङको सचिव थिए । तर, संसदीय इतिहासमा २०५१ सालको मध्यावधि निर्वाचन जितेयता उनले विजयको स्वाद चाख्न पाएका छैनन् । २०५६ मा उनी मोरङ क्षेत्र नं ६ बाट पराजित, २०६४ को पहिलो संविधानसभामा क्षेत्र नं ८ बाट माओवादीका गोपी अछामीसँग पराजित भए । २०७० को दोस्रो संविधानसभामा क्षेत्र नं ३ बाट कांग्रेसका दिलीप गच्छदारसँग पराजित भए । हारको शृङ्खलाका कारण २०७४ सालमा टिकट पाएनन् । २०७९ मा उनलाई प्रदेशसभामा मुख्यमन्त्री बन्ने गरी चर्चा भए पनि जित्ने सम्भावना नदेखेपछि उम्मेदवारी दिएनन् ।

जनअनुमोदित हुन नसके पनि बराल पार्टी संगठनमा भने सधैं शक्तिशाली रहँदै आएका छन्  । २०७९ को निर्वाचनमा मोरङमा टिकट बाँड्ने मुख्य जिम्मेवारी उनकै थियो ।

लामो भाषण गर्ने बानीका कारण कार्यकर्तामाझ उतिसारो लोकप्रिय नभए पनि नेतृत्वसँगको निकटताले उनले अवसर पाइरहे । तर, मनोनित हुँदा पद पाउने बराल प्रतिस्पर्धामा उत्रनासाथ कमजाेर देखिन्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.