इतिहासले नबिर्सेको ऋण तिर्न फरविसगञ्ज पुगे डा. शेखर कोइराला

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ४, शुक्रबार ०८:१६

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला यतिबेला पार्टीको १५ औँ महाधिवेशन र फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीजस्ता राजनीतिक व्यस्ततामा छन् ।

तर, ती सबै चटारोबीच पनि उनले इतिहाससँग गाँसिएको एउटा मानवीय र नैतिक जिम्मेवारीलाई समय निकालेर पूरा गरेका छन् । नेपाली प्रजातान्त्रिक आन्दोलनका क्रममा मौन तर निर्णायक भूमिका खेलेका एक भारतीय नागरिकको परिवारलाई भेट्न उनी बिहीबार भारतको बिहार राज्यअन्तर्गत पर्ने फरविसगञ्ज पुगे ।

विराटनगरबाट करिब २४ किलोमिटर टाढा रहेको फरविसगञ्जमा डा. कोइराला दिउँसो करिब १ बजे स्वर्गीय गणेशलाल शर्माको घर पुगेका थिए । ८९ वर्षको उमेरमा केही दिनअघि निधन भएका शर्माले २०३० सालमा भएको ऐतिहासिक विमान अपहरणकाण्डका बेला नेपाली क्रान्तिकारीहरूलाई सुरक्षित स्थानमा पुर्‍याउन अत्यन्त जोखिमपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सोही योगदानप्रति सम्मान प्रकट गर्न र परिवारप्रति समवेदना दिन डा. कोइराला आफैँ फरविसगञ्ज पुगेका हुन् । तत्कालीन राजा महेन्द्रद्वारा निर्वाचित सरकार अपदस्थ गरिएपछि प्रजातन्त्र पुनःस्थापनाका लागि संघर्षरत नेपाली कांग्रेसले २०३० साल जेठ २८ गते विराटनगरबाट काठमाडौं लैजान लागिएको रकम हात पार्ने योजना बनाएको थियो ।

बीपी कोइरालाको निर्देशनमा भारतमा रहेका गिरीजाप्रसाद कोइरालाको नेतृत्वमा उक्त योजना अघि बढाइएको थियो । रकम कब्जा गर्ने जिम्मेवारी वसन्त भट्टराई, नगेन्द्र ढुंगेल र दुर्गा सुवेदीलाई दिइएको थियो । यही क्रममा भएको विमान अपहरणपछि क्रान्तिकारीहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने काम भारत फरविसगञ्जका गणेशलाल शर्माले गरेका थिए ।

फरविसगञ्ज पुगेका डा. कोइरालाले शर्माको परिवारसँग बसेर ती दिनका घटनाहरू पुनः स्मरण गरे । उनीसँगै गएका वसन्त अर्यालका अनुसार डा. कोइरालाले बुधबार विराटनगर आएपछि नै यो भेटघाटको योजना बनाएका थिए । ‘डा. साबले फरविसगञ्ज जाने निर्णय गर्नुभएको रहेछ । शर्माजीको घरमा पुगेर उहाँले पुराना दिनका धेरै कुरा सम्झनुभयो,’ अर्यालले भने ।

शर्मा परिवारप्रति समवेदना प्रकट गर्दै डा. कोइरालाले आफू पनि उक्त दिन विमान चढ्ने तयारीमा रहेको स्मरण गरे । ‘घटना भएको दिन मैले पनि प्लेनको टिकट लिएको थिएँ । तर, प्रकाश दाइले रद्द गर्न भनेपछि महेन्द्र चोकको टिकट काउन्टरमा गएर टिकट रद्द गरें,’ उनले भने, ‘त्यसपछि यहाँबाट विमान अपहरण भयो । फरविसगञ्जमा गिरीजाबाबु, वसन्त भट्टराईलगायतका साथीहरूलाई जोखिम मोलेर सुरक्षित स्थानसम्म पुर्‍याउने काम शर्माजीले नै गर्नुभएको थियो । उहाँसँग कोइराला परिवारको अत्यन्त नजिकको सम्बन्ध थियो ।’

डा. कोइरालाले गणेशलाल शर्मालाई २०१७ सालको क्रान्तिका सच्चा र निस्वार्थ योगदानकर्ता भएको उल्लेख गर्दै उनको योगदान कांग्रेसका लागि मात्र नभई सम्पूर्ण नेपालीले स्मरण गर्नुपर्ने बताए । नेपाली जनता र नेपाली कांग्रेसप्रति शर्माले जीवनभर सद्भाव राखेको उल्लेख गर्दै उनले भने, ‘त्यसबेला शर्माजीले देखाउनु भएको साहस र सहयोग बिना धेरै कुरा सम्भव नहुन सक्थ्यो । इतिहासले यस्ता मानिसहरूलाई कहिल्यै बिर्सनु हुँदैन ।’

उक्त भेटघाटमा विमान अपहरणकाण्डका प्रत्यक्ष संलग्नकर्ता वसन्त भट्टराई, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता, मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्तिनाथ माझी, सचिवद्वय मोदराज घिमिरे र ललित श्रेष्ठ, कोषाध्यक्ष रञ्जु अधिकारी, बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा, विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंलगायतको उपस्थिति रहेको थियो ।

राजनीतिक भाषण र औपचारिक कार्यक्रमभन्दा पर गएर इतिहासका मौन पात्रहरूप्रति सम्मान प्रकट गर्न गरिएको यो यात्राले डा. शेखर कोइरालालाई वर्तमान राजनीतिका नेता मात्रै नभएर विगतका बलिदान र योगदानलाई जोगाएर राख्न चाहने संवेदनशील उत्तराधिकारीका रूपमा पनि प्रस्तुत गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.