
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार सार्वजनिक गरेको समानुपातिक सांसद उम्मेदवारको प्रारम्भिक सूची ‘सर्टलिष्ट’मा विराटनगरको गोल्छा परिवारकी सदस्य तथा संविधानसभा सदस्य राज्यलक्ष्मी गोल्छाको नाम समेटिएको छ ।
मधेशी कोटातर्फ राखिएको नाम सार्वजनिक भएसँगै लामो समयदेखि ओझेलमा परेको उनको राजनीतिक सक्रियता फेरि चर्चामा आएको छ । रास्वपाले ‘सर्टलिष्ट’मा परेका उम्मेदवारहरूसँग पुस ५ गते औपचारिक छलफल गर्ने जनाएको छ । छलफलपछि अन्तिम निर्णय लिइने बताइएको छ ।
गोल्छा दोस्रो संविधानसभामा नेकपा (एमाले)बाट समानुपातिक कोटामा सभासद् बनेकी थिइन् । उद्योग–व्यवसायसँग जोडिएको प्रतिष्ठित गोल्छा परिवारकी बुहारी भएकै कारण उनको राजनीतिक प्रवेशलाई सुरुदेखि नै सामान्यभन्दा फरक ढंगले हेरिँदै आएको थियो ।
संविधानसभामा प्रवेश गरेपछि उनी सक्रिय भूमिकामा देखिन नसकेकी मात्रै नभएर उनको सांसद बन्ने प्रक्रियासँग जोडिएको विवादले तत्कालीन समयमा राष्ट्रिय बहससमेत जन्माएको थियो । प्रधानमन्त्रीको निर्वाचनका क्रममा संसद बैठकमा अनुपस्थित भएपछि एमालेले उनलाई स्पष्टीकरण सोधेको थियो ।
पार्टीको निर्देशन पालना नगरेको भन्दै उनलाई राजीनामा दिन दबाब दिइयो र त्यसपछि उनी एमालेबाट अलगिइन् । यही घटनाक्रमसँगै उनले एमालेमा चन्दा दिएबापत समानुपातिक सांसद बनेको विषय सार्वजनिक भएको थियो ।
उक्त विषयले नेपाली राजनीतिमा समानुपातिक प्रणालीको दुरुपयोगबारे गम्भीर प्रश्न उठाएको थियो । पार्टी नेतृत्वसँगको सम्बन्ध चिसिएपछि उनले एमालेभित्रको राजनैतिक हैसियत गुमाइन् र सक्रिय राजनीतिबाट केही समय टाढा रहिन् ।
राज्यलक्ष्मी गोल्छा स्वर्गीय महेन्द्रकुमार गोल्छाकी श्रीमती हुन् । महेन्द्रकुमार विराटनगरलाई औद्योगिक नगरीका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका उद्योगपति रामलाल गोल्छाका छोरा थिए ।
गोल्छा परिवार पूर्वी नेपालको उद्योग, व्यापार र सामाजिक क्षेत्रमा प्रभावशाली मानिन्छ । यही पारिवारिक पृष्ठभूमिले राज्यलक्ष्मीलाई सधैं ‘उद्योगपति परिवारकी राजनीतिक प्रतिनिधि’का रूपमा चिनाउँदै आएको छ ।
एमालेसँग सम्बन्ध बिग्रिएपछि उनी केही समय राजनीतिक रूपमा निस्क्रिय रहिन् । त्यसपछि उनले वैकल्पिक राजनीतिको नारा बोकेको विवेकशील साझा पार्टी रोजिन् ।
पारदर्शिता, सुशासन र नयाँ राजनीतिक संस्कृतिको वकालत गर्ने उक्त पार्टीसँग उनको आबद्धता धेरैका लागि अप्रत्याशित मानिएको थियो । केही दिनअघि विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता भएपछि उनी स्वतः रास्वपाको राजनीतिमा आएकी हुन् ।
रास्वपाले सार्वजनिक गरेको समानुपातिक ‘सर्टलिष्ट’मा परेपछि गोल्छाले आफू सांसद निर्वाचित भए देशको सेवामा समर्पित हुने प्रतिक्रिया दिएकी छन् । विवेकशील साझा पार्टीसँग एकता भएपछि रास्वपामा आएको उल्लेख गर्दै उनले पार्टीले आफूलाई योग्य ठानेर ‘सर्टलिष्ट’मा राखेको बताइन् ।
‘उहाँहरूले राख्नु भएको छ । यो राम्रो कुरा हो,’ उनले भनिन्, ‘त्यसबाट निस्किएर निर्वाचित भएँ भने झन राम्रो । देशका लागि केही गर्न पाइन्छ ।’ रास्वपाको ‘सर्टलिष्ट’मा उनको नाम पर्नुलाई कतिपयले पार्टीको समावेशी रणनीतिका रूपमा व्याख्या गरेका छन् भने कतिपयले विगतका विवादित पृष्ठभूमि बोकेकी व्यक्तिलाई नयाँ भनिएको पार्टीले किन अघि सारेको हो ? भन्ने प्रश्नसमेत उठाइरहेका छन् ।
विशेष गरी समानुपातिक प्रणालीमार्फत चन्दा, पहुँच र प्रभावका आधारमा प्रतिनिधित्व हुने प्रवृत्तिको आलोचना भइरहेका बेला गोल्छाको पुनरागमनले रास्वपामाथि समेत सार्वजनिक बहस निम्त्याउने संकेत देखिएको छ । अब पुस ५ गते हुने छलफलपछि रास्वपाले अन्तिम सूची सार्वजनिक गर्नेछ ।
त्यसले राज्यलक्ष्मी गोल्छाको नाम रहने वा नरहने भन्ने निर्धारण गर्नेछ । एमाले कालखण्डको विवाद, विवेकशील साझा हुँदै रास्वपासम्म आइपुगेको उनको यात्राले नेपाली राजनीतिमा व्यक्तिको पृष्ठभूमि, पार्टीको सिद्धान्त र जनअपेक्षाबीचको जटिल सम्बन्धलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ ।
























