
विराटनगर । नेकपा (एमाले) ११ औं महाधिवेशनले शेरधन राईलाई पार्टीको केन्द्रीय सचिवमा निर्वाचित गरेसँगै राष्ट्रिय राजनीतिमा उनको कद थप अग्लो बनेको छ। भोजपुरको एउटा सामान्य किसान परिवारमा जन्मिएर कोशी प्रदेशको ‘प्रथम मुख्यमन्त्री’ सम्मको ऐतिहासिक यात्रा तय गरेका राईका लागि यो जित संघर्ष र धैर्यताको नयाँ परिचय बनेको छ।
महाधिवेशनको पूर्वसन्ध्यामा राईलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट नेताका रूपमा चर्चा गरिएको थियो। धेरैले उनलाई भण्डारीको ‘कोटा’ बाट हेर्ने प्रयास गरे पनि शेरधन भने पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अविचलित उभिए। अन्ततः अध्यक्ष ओलीकै पूर्ण विश्वास र भरोसाका साथ प्यानलमा समेटिएका राईले सचिव पदमा सहज जित हासिल गरे। यो जितले उनी केवल कुनै गुटको ‘उपग्रह’ मात्र नभई एमालेको मूल नेतृत्वको एउटा बलियो खम्बा बनेका छन्।
२०२७ फागुन ११ गते भोजपुरको आमचोकमा जन्मिएका राईको राजनीतिक यात्रा २०४२ सालमा स्कुले जीवनबाटै सुरु भएको हो। २०४६ को जनआन्दोलन ताका भूमिगत रहँदा उनले ‘निछाक’ उपनामले पार्टी गतिविधि हाँकेका थिए। २०५० मा अनेरास्ववियुको जिल्ला अध्यक्ष र २०५४ मा एमाले जिल्ला सचिव बन्दै उनले संगठनमा आफ्नो पकड जमाए। लगातार तीन कार्यकाल जिल्ला सचिव र २०६७ मा जिल्ला अध्यक्ष बनेका उनले त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन।
शेरधनको संसदीय यात्रा पनि निकै लोभलाग्दो छ। २०५६ सालमा भोजपुरबाट निर्वाचित हुँदा उनी संसदकै सबैभन्दा कम उमेरका सांसद (कान्छा सांसद) बनेर चर्चामा आएका थिए। २०७२ मा केपी ओली नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री र सरकारको प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेपछि उनको चर्चा देशव्यापी बन्यो।
मुलुक संघीयतामा गएपछि २०७४ मा उनी प्रदेश-१ (हाल कोशी) को प्रथम मुख्यमन्त्री बनेर इतिहास रचे। साढे तीन वर्ष सरकारको नेतृत्व गरेपछि उनले २०७८ मा पदबाट राजीनामा दिएका थिए।
२०७९ को निर्वाचनमा भोजपुरबाट झिनो मतले पराजित भए पनि शेरधनको पार्टीगत हैसियत भने कमजोर भएन। चुनावी परिणामले धक्का दिए पनि संगठन र नेतृत्वको विश्वासमा उनी सधैं अब्बल रहे। दशौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य र कोशी प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालेका उनी अहिले ११औं महाधिवेशनबाट शक्तिशाली केन्द्रीय पदाधिकारी (सचिव) बनेका छन्।
सामान्य पृष्ठभूमिबाट उठेर विद्यार्थी राजनीति, जिल्ला नेतृत्व, सांसद, मन्त्री र मुख्यमन्त्री हुँदै एमालेको केन्द्रीय सचिवसम्मको यो छलाङ समकालीन राजनीतिमा ‘मिहिनेत र धैर्यता’ को एउटा सशक्त उदाहरण बनेको छ।
























