
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन सकिएसँगै प्यानल र पक्ष-विपक्षको राजनीति पनि अन्त्य भएको बताएका छन् । महाधिवेशनपछि शुक्रबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सानातिना कमजोरीका बावजुद महाधिवेशन बहुआयामिक रूपमा सफल भएको दाबी गरे ।
उनले पार्टी अब नयाँ उचाइ र एकताको भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै विगतका कमजोरी आगामी दिनमा नदोहोरिने विश्वास व्यक्त गरे । ओलीले पार्टीको वैचारिक र कार्यक्रमिक नीतिअनुसार सेनाको परेडमा जस्तै एकस्वर र ताल मिलाएर अघि बढेमा मात्र सफलतामा पुगिने धारणा राखे ।
बैठकमा केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै अध्यक्ष ओलीले कुनै पनि असन्तुष्टि भए पार्टी नेतृत्वसमक्ष लिखित वा मौखिक रूपमा राख्न सकिने तर सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको प्रतिष्ठामा आँच पुर्याउन नहुने चेतावनी दिए । एमाले लोकतान्त्रिक पार्टी भएकाले हरेक व्यक्ति स्वतन्त्र भए पनि स्वतन्त्रताका नाममा पार्टीको सामूहिक निर्णयविरुद्ध चल्न नमिल्ने उनले स्पष्ट पारे । ओलीले पार्टीभित्र सुदृढ अनुशासन कायम राख्दै सामूहिक हितका लागि एकजुट भएर लाग्न सबै नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे ।
























