दिलीप बगडिया : कांग्रेस र माओवादी हुँदै एमालेको केन्द्रीय तहसम्म

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार १३:००

विराटनगर । राजनीति सम्भावनाको खेल मात्र होइन, सही समयमा सही निर्णय लिन सक्नेका लागि ठूलो फड्को मार्ने भर्‍याङ पनि हो । मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडिया यसका ज्वलन्त उदाहरण बनेका छन् । कुनै बेला माओवादी केन्द्रको ‘कमान्डर’ बनेर नेकपा एमालेको कडा आलोचना गर्ने बगडिया आज त्यही पार्टीको नीति निर्माण गर्ने सर्वोच्च तह अर्थात् केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् ।

नेकपा एमालेको हालै सम्पन्न ११ औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा पर्दै बगडियाले मधेसी क्लस्टरबाट केन्द्रीय सदस्यको जिम्मेवारी पाएका हुन् । एमाले प्रवेश गरेको छोटो अवधिमै उनले गरेको यो प्रगतिलाई राजनीतिक वृत्तमा ‘छोटो समयको ठूलो छलाङ’ का रूपमा हेरिएको छ ।

कांग्रेसबाट सुरु, माओवादीमा उदय

बगडियाको राजनीतिक यात्रा निकै रोचक र घुमाउरो छ । उनले आफ्नो यात्राको श्रीगणेश नेपाली कांग्रेसबाट गरेका थिए । तर, कांग्रेसको आन्तरिक वातावरणमा आफूलाई गुम्सिएको महसुस गरेपछि उनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीको टिकटबाट रंगेलीको मेयर निर्वाचित भएपछि उनले मधेस राजनीतिमा आफ्नो बलियो पकड प्रमाणित गरिदिए ।

तर, माओवादीसँगको उनको सहयात्रा पनि धेरै समय टिकेन । २०७८ फागुन २५ गते उनी एमालेमा ‘हाम फाले’ । उनी एक्लै एमाले छिरेनन्, आफूसँगै पालिकाका धेरै जनप्रतिनिधि र कार्यकर्तालाई लालझन्डा बोकाएर एमालेमा भित्र्याए । यो घटनाले तत्कालीन समयमा मोरङको राजनीतिमा ठूलो हलचल पैदा गरेको थियो ।

उद्योगीको दिमाग, राजनीतिमा प्रभाव

बगडिया मोरङका स्थापित इँटा उद्योगी पनि हुन् । आफ्नो उद्योग र व्यवसायमा सफल उनले त्यही ‘व्यवस्थापकीय कौशल’ नगरपालिका चलाउँदा पनि प्रयोग गरे । रंगेलीमा उनले गरेको विकास निर्माण र नागरिकसँगको प्रत्यक्ष संवादले उनलाई लोकप्रिय बनायो । त्यही लोकप्रियताकै जगमा २०७९ को निर्वाचनमा उनले एमालेबाट पुनः रंगेलीको नेतृत्वमा सानदार जित निकाले । रंगेलीको कार्यपालिकामा एमाले बाहेक अन्य दलका एक जना मात्र सदस्य निर्वाचित हुनुले पनि उनको प्रभाव कति छ भन्ने स्पष्ट पार्छ ।

‘पाहुना’ बाट ‘सारथी’ सम्म

एमाले प्रवेश गर्दा कतिपयले उनलाई ‘पाहुना नेता’ को संज्ञा दिँदै टिकाउ नहुने आशंका गरेका थिए । सुरुका दिनमा पार्टीभित्रको इतर समूहमा देखिएका बगडियाले महाधिवेशनसम्म आइपुग्दा आफूलाई संस्थापन पक्ष (ओली समूह) को विश्वासिलो पात्रका रूपमा स्थापित गरे । मोरङ क्षेत्र नम्बर ५ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चुनिएका उनले केन्द्रीय कमिटीको चुनावमा संस्थापन प्यानलबाटै टिकट पाए र विजयी पनि भए।

छोटो अवधिमा पार्टी फेर्दै, चुनाव जित्दै र पार्टीको माथिल्लो तहमा पुग्ने बगडियाको यो यात्राले देखाउँछ- राजनीतिमा लोकप्रियता र व्यवस्थापकीय क्षमता भयो भने उचाइ तय गर्न समय लाग्दैन । अब एमालेको केन्द्रीय राजनीतिमा रंगेलीका यी ‘कमान्डर’ को भूमिका कस्तो रहला, त्यो भने आगामी दिनले नै बताउनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.