‘राष्ट्रपतिले संसद् पुनर्स्थापना गर्नुपर्छ’

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस ५, शनिबार १५:०१

काठमाडौँ । नेकपा (एमाले) का नेता एवं विघटित प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलले संसद् पुनर्स्थापना गर्नुपर्ने माग गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै बर्तौलाले संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिले संसद् ब्युँताउनुपर्ने बताएका हुन् ।

संविधानको संरक्षकको जिम्मेवारीमा रहेका राष्ट्रपतिको गम्भीर संवैधानिक असावधानी र कमजोरीका कारण प्रतिनिधिसभा विघटन भएको बर्तौलाको दाबी छ। उनले भनेका छन्, ‘यो केवल संसद्को विघटन मात्र होइन, लोकतन्त्रको आत्मामाथिको नाङ्गो प्रहार र जनतामा निहित सार्वभौमसत्ताको शिर छेदन पनि हो।’

प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा दर्जनौँ रिटहरू विचाराधीन अवस्थामा रहे पनि राष्ट्रपतिले अदालतको फैसला कुरिरहनु नपर्ने बर्तौलाको जिकिर छ । बर्तौलाले ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ मा विघटन गरेको प्रतिनिधिसभालाई २०६३ वैशाख ११ गते घोषणामार्फत पुनर्स्थापना गरेको स्मरण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक संकट र बढ्दो राजनीतिक अस्थिरताको तत्काल अन्त्य गर्न सम्माननीय राष्ट्रपतिबाट नै विगतको नजीरका आधारमा संसद् पुनर्स्थापनाको घोषणा गरी बैठक आह्वान गरिनुपर्छ ।’ संविधान र राष्ट्रप्रतिको जवाफदेहितालाई ध्यानमा राख्दै राष्ट्रपतिले अविलम्ब यस्तो कदम चाल्नुपर्नेमा बर्तौलाले जोड दिएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.